काठमान्डू,
बंगलादेशको ढाकामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली टिम शुक्रबार स्वदेश फर्किएको छ । प्रतियोगिताको कुनै पनि खेलमा पराजय नभोगी च्याम्पियन बन्न सफल नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानथलमा स्वागत गरेका थिए ।
खेलाडीलाई स्वागत गर्दै सदस्य सचिव सिलवालले नेपाली टिमका सबै सदस्यलाई पुरस्कार स्वरुप तीन–तीन लाख रुपैयाँ दिने घोषणा गरे । खेलाडीलाई स्वागत गर्नका लागि पूर्व खेलकुद मन्त्री दलजित श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल भलिबल संघका पदाधिकारी तथा खेलप्रेमीहरु विमानस्थलमा पुगेका थिए । २० वर्षे भलिबल इतिहासमा नेपाली महिला टोलीले प्राप्त गरेको यो पहिलो स्वर्ण पदक हो ।