इलाम :भारतले दशगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको दबाबका लागि आन्दोलनरत विद्यार्थी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच सीमावर्ती क्षेत्र सन्दकपुरमा शनिबार ढुंगा हानाहान भएको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को नेतृत्वमा नेपाली राष्ट्रिय झन्डा फहराउन सन्दकपुर पुगेको टोलीलाई एसएसबीले अवरोध गर्न खोज्दा झडप भएको अनेरास्ववियु केन्द्रीय सदस्य रवीन्द्र सुवेदीले बताए।
‘शान्तिपुर्ण कार्यक्रमका लागी पुगेका विद्यार्थीहरुलाई एसएसबीले सन्दकपुरको भ्यु–पोइन्ट प्रवेश गर्न नदिएपछि झडप भएको हो’ उनले भने, ‘एसएसबीले निषेधित भनेर राखेको बोर्डसमेत विद्यार्थीले भत्काएर फ्याँकिदिएका छन ।’ सुवेदीको नेतृत्वमा भारतद्वारा अतिक्रमित भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउन शुक्रबार ३० जनाको संख्यामा अखिलको टोली सन्दकपुर पुगेको थियो।
सदरमुकामबाट गएका विद्यार्थी र केही स्थानीय गरी करिब ५० जनाले ‘भारतीय विस्तारवाद मूर्दावाद’ ‘सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै सन्दकपुर डाँडामा राष्ट्रिय झन्डासहित अखिलको झन्डासमेत फहराएका थिए। ‘अतिक्रमित क्षेत्रमा सुरुमा एकजना मात्र एसएसबीका जवान थिए।’ सुवेदीले भने, ‘हामीलाई तर्साउन ठूला समूहमा आएर उनीहरुले ढुंगामुढा गरेपछि हामीले प्रतिकार गर्दै राष्ट्रिय झन्डा फहराउन सफल भयौँ।’