सिमामा स्तम्भ खाेज्दै एसएसबी र सशस्त्र प्र’हरी

भण्टाबारी / नेपाल–भारत सिमाना सुनसरीमा रहेका २ सय ९० सीमास्तम्भमध्ये अधिकांश जीर्ण अवस्थामा छन् । सिमाना रहेका जङ्गेपिलर कुनै भत्केका र कुनै बालुवाले पुरिएको अवस्थामा छन् । नेपाल–भारत सीमाक्षेत्रमा सुनसरीमा २ सय ९० वटा सीमास्तम्भ हुनुपर्नेमा २३ वटा हराएको पाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले कागजी तथ्याङ्कमा २३ वटामात्र सीमास्तम्भ हराएको बताए पनि लामोसमयदेखि खोजीकार्य नभएकोले त्योभन्दा धेरै सीमास्तम्भ हराएको अनुमान गरिएको छ । हराएका बाहेक अरू सुरक्षित रूपमा रहेको भनिएका सीमास्तम्भसमेत धेरैजसो मर्मतसम्भार नहुँदा जीर्ण बनेका छन् । जङ्गबहादुर राणा प्रधानमन्त्री हुँदा सीमा निर्धारणपछि गाडिएको स्तम्भ पुस्तौं बितिसक्दा समेत मर्मतसम्भार नहुँदा जीर्ण बनेका हुन् ।

नेपाल सरकारले सीमा सुरक्षाका लागि स्थापना गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले जनशक्ति अभावको कारण देखाउँदै सीमा सुरक्षा कार्यसमेत गर्न समस्या पर्ने गरेको जनाउँदै आएको छ । जिल्लास्तरबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले पटक–पटक सिमानामा रहेका सीमास्तम्भ मर्मत–सम्भार गर्न कूटनीतिक पहल गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्दै आए पनि कार्यान्वयन हुन सकेको छैन ।

एसएसबी र सशस्त्र सीमास्तम्भ खोज्दै
भारतसँग सीमामा जोडिएको सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा हराएका सीमास्तम्भ खोजी गर्न सशस्त्र प्रहरीले एसएसबीको साथ पाएको छ । भारतसँग सीमा जोडिएको कोशी गाउँपालिका–८ स्थित भण्टाबारी क्षेत्रमा ४९ वटा सीमास्तम्भ हुनुपर्नेमा २६ वटामात्र सुरक्षितरूपमा रहेको र २३ सीमास्तम्भ हराएको समाचार सार्वजनिक भएपछि सशस्त्र प्रहरीले सीमास्तम्भ खोज्न सक्रियता बढाएको हो ।

केही दिनयता सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीले नेपाल प्रहरी र भारतीय एसएसबीको टोलीसँग सहकार्य गरेर नियमितरूपमा सीमास्तम्भ खोज्दै आएको छ । यसै क्रममा भारतीय एसएसबीसँग मिलेर संयुक्तरूपमा गरिएको गस्तीले शनिबार सीमास्तम्भ बालुवाले पुरिएको अवस्थामा रहेको पाइएको बिओपी भण्टाबारीका इन्स्पेक्टर प्रेमसिंह विष्टले बताए । उनका अनुसार नदेखिने गरी सीमास्तम्भ बालुवामा पूरै पुरिएको अवस्थामा पाइयो। एसएसबीसँग मिलेर त्यसलाई पूर्वअवस्थामा फर्काएको उनले बताए ।

सप्तकोशी नदीमा पानीको बहाव बढेर आउँदा सीमास्तम्भ बालुवाले पुरेको उनले बताए । सीमास्तम्भको बारेमा धेरै समयदेखि खोजी नभएकोले दुई देश छुट्याउने सीमास्तम्भ जीर्ण बनेको इन्स्पेक्टर विष्टले बताए । नेपाल–भारत दुवै देशका लागि सीमास्तम्भ चासोको विषय भएकोले संयुक्तरूपमा खोजीकार्य गरिएको भारतीय एसएसबी एस कम्पनी विहार राज्य भीमनगरका सव–इन्स्पेक्टर एलडब्लु भूटियाले बताए । सीमास्तम्भ खोजीकार्य गरिनुका साथै सीमामा शान्तिसुरक्षा कायम राख्न नेपाल–भारत दुवै देशका प्रहरीको भूमिका अहम् रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार