काठमाडाै । कुवेतमा थुनामा रहेका २१ नेपाली कामदारलाई तत्काल फिर्ताको प्रक्रिया अघि बढाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई २१ जना नेपाली फर्काउन भनेको हो । समितिले अवैधानिक रुपमा कुवेत पठाउने म्यानपावर कम्पनीलाई कडा कारवाही गर्न पनि निर्देशन दिएको छ ।
कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ । थुनामा राखेका उनीहरुको दण्ड जरिवाना तिरेर भएपनि तत्काल फिर्ता पठाउन समितिले सरकारलाई निर्देशन दिएको हो ।
थुनामा रहेका ती नागरिकहरुका लागि ५४ लाख जरिवाना तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दुतावासको भनाई छ । परराष्ट्र सचिव शंकरदास बैरागीले उनीहरुलाई स्वदेश फर्काउन त्यहाँस्थित नेपाली दुतावासमार्फत पहल भईरहेको बताउनु भयो ।
बैठकमा समितिका सदस्यहरुले कामको खोजीमा अवैधानिक ढंगले कुवेत पुगेका ती नागरिकहरुलाई स्वदेश फिर्ता गराउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका थिए ।