आमाको उपचार गर्न नसकेर बावुले संसार छो’डे, ३ छोरा-छोरीको बिचल्ली

धादिङ / धादिङबेसीबाट ७ किलोमिटर कच्ची सडकको यात्रा पुरा गरेपछि नीलकण्ठ १२ को आगेटारीमा पुगिन्छ । आगेटारीमा झण्डै तीस, पैतीस घरहरुको एउटा मगर बस्ती छ । भूकम्पपछि बनेका नयाँ नयाँ घरहरु सडकबाटै देखिन्छ । त्यही नयाँ घरहरुको बीचमा एउटा जस्ताको टहरा छ ।

टहराको पूर्व र पश्चिम दुवैपटि ढोका छ । पूर्वपट्टि रहेको ढोकाको छेउमै काठको फलेकले बनाइएको खाटमा सुतेकी थिइन् लक्ष्मी मगर । किरियापुत्रीको सेतो पोशाकमा रहेकी लक्ष्मीले आँखा झिमिक्क पनि गरेको देखिँदैन । मानसिक र शारीरिक दुवै समस्याबाट पीडित बनेकी लक्ष्मीको मुखबाट शब्द निस्किँदैन, हातखुट्टा चल्दैन, दिशापिसाब गरेको पनि चाल पाउँदिनन् । रसिला आँखा लिएर लम्पसार परेकी लक्ष्मीको अनुहारमा निराश देखिन्छ । सायद, उनका वरीपरि भएका घटनाहरु लक्ष्मीले केही बुझेकी छिन् ।

लक्ष्मीको छेउमै रहेको टहराको पूर्वी ढोकामै म्याट ओछ्याइएको छ । त्यसमा लक्ष्मीका १० वर्षका छोरा किरियापुत्रीको सेतो पोशाकमा छन् । उनको हातमा एउटा सानो खेलौना बल छ । उनी त्यहि बललाई भुइँमा तलमाथि गर्दै खेलिरहेका छन् ।

टहराको पश्चिम पट्टि रहेको ढोका भित्र खाटमा बसेर दुई बालिका पढिरहेका छन् । खाटमा बसेर पढीरहेकी ७ वर्षीया बालिका सोमकुमारी (कान्छी) १२ वर्षीया करिना(जेठी) र बाबुको किरीया बसिरहेका १० वर्षका काजी मगर लक्ष्मीका छोरा, छोरी हुन् ।

२०७१ सालदेखि मानसिक र शारीरिक दुवै रोगले थलिएको लक्ष्मीको उपचार गर्दा गर्दै उनका पति यमबहादुरले हरेश खाएर मृ’त्युको बाटो रोजे । यमहबादुरले कात्तिक २१ गते आ’त्मह’त्या गरे । शनिबार दिउँसो धादिङ पुग्दा प्यारलाइसिस भएकी ३३ वर्षीया लक्ष्मी र १० वर्षका काजी तीन दिनदेखि किरियापुत्रीको सेतो पोशाकमा थिए ।

यमबहादुरको मृ’त्युपछि उनकी १२ वर्षीया जेठी छोरी करिनाको थाप्लोमा जिम्मेवारीको थुप्रो लागेको छ । ७ कक्षामा पढ्दै गरेकी करिना बाबुको किरिया शुरुभएदेखि स्कुल जना पाएकी छैनन् । करिना बिहान ६ बजे उठ्छिन् । घर सफा गरेर, खाना बनाउँछिन् । आमाको मुखु धोइदिन्छन्, दिसापिसाब सफा गरिदिन्छन् । करिनाले आमाको एकोहोरो बोली भने कहिलेकाही सुनेकी छन् । बाबुको किरिया बसेका १० वर्षका काजी बेला बेलामा भोक लाग्यो भन्छन् । करिना भाइलाई सम्झाउँछिन् ।

‘ममी ३ वर्ष नै भइसक्यो बोल्न छाड्नुभएको, दिशापिसाब मैले आफै सफा गर्छु,’ करिनाले खबरहबसँग भनिन्, ‘ममीले कहिले काही नानी मात्र भन्नुहुन्छ, दोहोरो कुरा चाँही हुँदैन ।’

बाबुको मृ‘त्युपछि आमाको सम्पूर्ण स्याहार र भाइबहिनीको लालनपालनको जिम्मेवारीमा जवर्जस्ती होमिएकी करिना आमालाई निको भएको हेर्न चाहन्छिन् । आमाले पकाएको खाना खाएर, स्कुल जाने रहर छ करिनालाई । तर बाध्यता उनी आमाको स्याहार गरेर बिहान बेलुकाको छाक पूरा गर्ने विषयमा मात्र सोच्न भ्याउँछिन् ।

‘बुबाहुँदा पनि ममीको दिसापिसाब मैले नै सफा गर्दिन्थे, काम भ्याएमात्र स्कुल जान्थें,’ करिनाले भनिन्, ‘ममीलाई ठिक भइदिए त म नियमति स्कुल जान पाउँथें ।’

लक्ष्मीको खाट अगाडि केही छिमेकी र आफन्तहरु बसिरहेका थिए । लक्ष्मीको घरमा पुग्नेहरलाई लक्ष्मीको अवस्था र घटनाबारे त्यही आफन्तले जानकारी दिन्छन् । लक्ष्मीको यो अवस्था कसरी भयो ? लक्ष्मीका साइला जेठाजु इन्द्रबहादुर मगरका अनुसार २०७० साल फागुनमा दाउरा काट्ने क्रममा लडेकी थिइन् ।

लडेर ढाडमा चोट पुगेपछि बालाजुको जनमैत्री अस्पतालमा लक्ष्मीको शरीरमा फेरि निकाल्न नमिल्ने गरी स्टील राखिएको थियो । (हाल सो अस्पताल बन्द भएको छ ) त्यतिबेला यमबहादुर वैदेशिक रोजगारीमा थिए । लक्ष्मीको उपचारमा त्यतिबेला ६ लाख खर्च लागेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार