काठमाण्डौ – ११ वर्षपछिकै सबैभन्दा ठूलो माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सोमबार उद्घाटन भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा रहेको ‘एक्सन रुम’बाट आयोजनाको उद्घाटन गर्नुभयो । तर यो आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट २०७६ सालको जेठको ३ गते र दोस्रो युनिटबाट ३० मेगावाट साउनको १७ गतेदेखि नै उत्पादन भैरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले बनाएका आयोजनामध्ये माथिल्लो त्रिशूली थ्री ‘ए’ ११ वर्षपछिकै ठूलो आयोजना हो । यसअघि प्राधिकरणले २०६५ सालमा ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी आयोजना सम्पन्न गरेको थियो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी) सँग २०६७ सालको जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।
सम्झाैताअनुसार २०७१ सालको जेठ १७ गते नै यो आयोजना सम्पन्न हुन पर्ने थियो । विद्युत् गृह भूमिगत बनाउने कि सतहमा बनाउने भन्ने विवाद, आयोजनाको क्षमता बढाएर ९० मेगावाट बनाउने निर्णयलगायतका कारणले निर्माण प्रभावित भएको थियो । त्यसपछि आयोजनाको म्याद २६ महिना थपेर २०७३ सालको असारभित्रमा सक्ने लक्ष्य राखिएको थियो ।
विभिन्न समस्याले थला परेको आयोजना २०७२ सालको भूकप्प र पहिरोले झन् क्षतविक्षत भयो । आयोजनाको बाँधस्थलमा ठूलो पहिरो गएको थियो ।
आयोजनाको बाँधको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न ठाउँमा क्षति पुगेको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयका आधारमा पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनाले पाएको थियो । यसका लागि ६१ करोड १९ लाख रुपैयाँ थप खर्च भएको थियो ।
नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित लागत १४ अर्ब ४३ करोड रुपैयाँ (निर्माण अवधिको ब्याजबाहेक) रहेको थियो । निर्माण अवधिको २ अर्ब ८९ करोड ब्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना निर्माण सम्पन्न भएको छ ।