काठमाडौं– छिमेकी मुलुक भारत र चीनले गरेको सीमा अतिक्रमणको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सोमबार राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ । बालाजु क्षेत्रमा निकालिएको मसाल जुलुस प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप गरी २१ नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरेको छ । विद्यार्थीहरुले भारत र चीनले कब्जा गरेको नेपाली भूमि तत्काल फिर्ता लिन माग राख्दै विगत केही दिन यता प्रदर्शन गर्दै आएका छन् ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा भट्टसहित विद्यार्थी नेताहरु निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे,विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह , राजन बुर्लाकोटी लगायतका २१ नेता कार्यकर्ता पक्राउ परेका हुन् ।
प्रदर्शनको क्रममा विद्यार्थीहरुले भारत र चिनले मिचेको भूमी फिर्ता गर , कालापानी , लिपुलेक हाम्रै हो लगायतको नारा लगाएका थिए । उनीहरुले माछापोखरीमा कोणसभा गर्ने तयारी गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको छ ।
यो पनि पढ्नुहोस
नेपालगञ्ज-बाँके जिल्ला अदालतले हतियारसहित पक्राउ परेका तरुण दल, नेपालगञ्जका नगर अध्यक्ष सन्दीपजंग शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
सन्दीपसँगै पक्राउ परेका अन्य तीन जनालाई जनही डेढ-डेढ लाख रुपैया धरौटी मागिए पनि उनीहरु धरौटी नबुझाएर कारागार गएका छन्।जिल्ला न्यायाधीश दिलिपराज पन्तको एकल एजलाशले सन्दीपलाई पुर्पक्षका लागि कारागार र अन्य तीन जना प्रितम थापा, माधव नेपाली र यमबहादुर बुढामगरलाई जनही डेढ÷डेढ लाख रुपैया धरौटीको आदेश गरेको थियो।
सन्दीप कारागार चलान भएपछि ‘एक दिन सन्दीपलाई साथ दिने’ भन्दै तिनै जना कारागार पुगेका छन्। ‘उनीहरुले तत्कालै धरौटी बुझाउन सक्थे। एक दिन भएपनि सँगै बसेर सन्दीपलाई सान्त्वना दिन कारागार गए, अदालतमा उपस्थित कांग्रेसनिकटहरु कुरा गर्दै थिए, भोली उनीहरु धरौटी बुझाएर छुट्छन्।’
प्रितम, माधव र यमबहादुर तीन वर्ष कारागारमा बसेर चार महिनाअघि छुटेका थिए। नेपालगञ्जका युवा चेतन मानन्धरको हत्या अभियोगमा उनीहरु जेल परेका थिए।
कात्तिक १४ गते गनापुरको नमस्ते भिलेजबाट सन्दीपको बा १८ च ४२११ नम्बरको मारुती सुजुकी कारमा ‘लोडेट’ अत्याधुनिक पेस्तोल बरामद भएपछि प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको थियो। कम्तीमा पाँच वर्षको सजाय माग दावी गरेर सन्दीपलाई अदालतमा उपस्थित गराइएको थियो।
प्रहरीले सन्दीपलाई फसाएको भन्दै तरुण दलको अगुवाईमा कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको थियो। उसले सडक प्रदर्शन, जिल्ला प्रशासनमा धर्नादेखि बाँके बन्दसम्म गरेको थियो।