काठमाण्डौ – बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वातावरण यसअघिको भन्दा फरक थियो । चहलपहल र घुईंचो, तर वातावरण मौन । बिहीबार दिउँसो एक बजे मन्त्रालयकै सभाहलमा निवर्तमान मन्त्री गोकर्ण विष्टको बिदाइका साथै नयाँ मन्त्रीलाई शुभकामना दिने कार्यक्रम थियो । मन्त्रालयको दोस्रो तल्ला, जहाँ निवर्तमान मन्त्री विष्टको नाम टाँसिएको बोर्ड हटिसकेको थियो । त्यही हटेको बोर्डको छेउछाउमा यताउती गर्दै थिए कर्मचारी ।
निर्धारित समयअनुसार नै विष्ट आफ्नो कार्यकक्षबाट सभाहलतिर मुस्कुराउँदै छिर्नुभयो । मुस्कुराइरहेका विष्टका अघिल्तिर बसेका कर्मचारी र अरु भावुक देखिन्थे । बिदाइ र स्वागतको क्षण एकैपटक हुँदा वातावरण यस्तै हुन्छ । तर मन्त्री विष्टलाई देख्दा लाग्थ्यो यो बिदाइको क्षण हैन । मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. नारायण रेग्मीले मन्त्रीसँगको आफ्नो सहकार्यको अनुभव सुनाउनुभयो ।
केही समयअघि मात्रै श्रम सचिव भएर आएका बिनोद केसीले छोटो समयको आफ्नो सहकार्य सौहाद्र्धपूण रहेको भन्दै निवर्तमान मन्त्री विष्टको सुखद भविष्यको कामना गर्नुभयो र मायाको चिनो दिनुभयो । मन्त्री विष्टले पाएको मायाको चिनो थियो ‘बुद्धको मूर्ति ।’ अघिल्तिर टेबुलमा रहेको बुद्धको मूर्तिजस्तै शान्त हुनुहुन्थ्यो, विष्ट । सुरक्षित वैदेशिक रोजगारीसँगै देशभित्रको रोजगारी सृजनाका लागि आफूले थालेका तमाम काम र प्रयत्नलाई बीचैमा छाड्नुपर्दा मन त दुखेको थियो होला । तर त्यो पीडा अनुहारमा देखिंदैनथियो । बरु जोशका साथ भन्नुभयो, ‘यो बिदाइको क्षण हो, तर मेरो लागि खुशी र सुखद क्षण हो ।’
आफूले श्रम मन्त्री भएर कार्यभार सम्हालेपछि २० महिनाको अवधिमा गरेको कामको समीक्षा गर्दै उहाँले मौका दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद व्यक्त गर्नुभयो । न त उहाँको बोलीमा मन्त्रीबाट हट्नुपर्दाको दुःख झल्किन्थ्यो, न त अनुहारमा । उहाँले मन्त्री नभए पनि नागरिकाको हितमा काम गर्नका लागि आफू राजनीतिमै भएको पटकपटक दोहोर्याउनुभयो । झण्डै २३ मिनेट बोल्दा विष्टले आफू गरिबी, अभाव र अन्यायमा रहेका नागरिकका लागि जहाँबाट जहिले पनि आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कर्मचारीलाई सधैं नागरिकको हितका लागि काम गर्न पनि अनुरोध गर्नुभयो ।
उपस्थित सबैसँग बिदा माग्नुभयो । मन्त्रीको बोली र व्यवहारले सबै भावुक देखिन्थे । सबैले हात मिलाएर आगामी दिनको शुभकामना दिए । बाहिर निस्किएर पनि कर्मचारीलाई भन्दै हुनुहुन्थ्यो ‘राम्रो काम गर्नु ।’ विष्ट ‘म गएँ है त’ भन्दै भर्याङबाट तल झर्नुभयो । पछिपछि लागे कर्मचारीहरु । उहाँ हिँड्दै बाहिर निस्कनुभयो । अघिअघि विष्ट, पछिपछि कर्मचारी र अरु मानिसको लाम । सिंहदरबारभित्रै रहेका अरुलाई यो दृश्य नौलो लाग्यो ।
सिंहदरबारको गेटबाट हात हल्लाउँदै विष्ट बाहिरिनुभयो । बाटोमा ट्याक्सी रोक्नुभयो र मुस्कुराउँदै ट्क्याक्सीमा चढेर घर फर्कनुभयो ।
यो पनि हेर्नुहोस
मन्त्रिपरिषद्मा थपिएका नयाँ मन्त्रीहरुको सूची सार्वजनिक भएलगत्तै सिंहदरबारबाट बाहिरिने र भित्रिनेमध्ये केही मन्त्रीका बारेमा बढी नै चर्चा भयो। तीमध्ये एक हुन्– बिहीबार कृषि तथा पशुपंक्षी विकास मन्त्री नियुक्त भएका घनश्याम भुसाल।
आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरुको पनि सार्वजनिकरुपमा कडा आलोचना गर्ने भुसाल ओली नेतृत्वकै सरकारमा गएकोप्रति कतिपयले आश्चर्य व्यक्त गरेका छन्। अन्य कतिपयले उनीमाथि आफ्नो छवि बचाउनु नै सबैभन्दा ठूलो चुनौति रहेको टिप्पणी गरेका छन्।
‘यो दलालको सेवा गर्ने दलाल सरकार हो भन्थे, घनश्याम भूसाल, आफैँ अति केन्द्रीकृत, संकुचित र असहिष्णु ओली सरकारका मन्त्री भएछन्। भनेसि अब ओलीतन्त्र भित्रैबाट वैचारिक र सांस्कृतिक कायापलट हुने भो, होइन त कमरेड? अब भिटेनले जमाएर भन्लान् लास्टमा हामी माका फुइँ त हो ब्रो’ नयाँ मन्त्रीहरुको शपथलगत्तै लेखक-स्तम्भकार खगेन्द्र संग्रौलाले सामाजिक सञ्जाल ट्विटरमार्फत् आफ्नो धारणा व्यक्त गरे।