हेर्नुहोस पत्ताले बाट सगरमाथा मज्जाले देख्न सकिन्छ

तपाईंलाई आँखै अगाडि सगरमाथा हेर्ने रहर छ ? लामो हिमाली पदयात्रा, महँगी, समय अभाव जस्ता समस्याले सगरमाथा हेर्ने रहर पूरा भएको छैन भने तपाईंको लागि उपयुक्त गन्तव्य हुनुसक्छ, सोलुखुम्बु र ओखलढुङ्गाका सीमानामा रहेको पत्ताले डाँडा । पत्ताले डाँडा समुन्द्री सतहबाट झण्डै ३२ सय मिटर उचाइमा रहेको छ । न अत्याधिक चिसोले सताउने न त पदयात्रा गर्नुपर्ने झण्झट । काठमाण्डौबाट झण्डै २ सय ५० किलोमिटर कालोपत्रे सडक पार गरेपछि सजिलै पत्ताले पुगिन्छ ।

काठमाण्डौबाट बनेपा, नेपालथोक, खुर्कोट, घुर्मी, ओखलढुङ्गा हुँदै पुगिने पत्ताले जानको लागि पर्याप्त मात्रामा गाडीको सुविधा छ ।

हिमालको दृष्यावलोकन

पत्तालेबाट सगरमाथा नजिकै देखिन्छ । सगरमाथाको आकर्षण दृष्यमात्र हैन झण्डै एक दर्जन हिमाल पत्तालेबाट देखिन्छ । सगरमाथासँगै नुम्बुर, लोत्से, गौरीशंकर, मेरापिक, कार्यालुङ, मकालु, कञ्चनजंगा, नुम्बुर, चोलाच्छे, ताबोचे, थामसेर्कु, पुमोरी, खुम्बुचे, चोयूलगायत हिमाल देखिन्छ । पत्तालेबाट देखिने सुर्योदयको दृष्य साँच्चै लोभलाग्दो हुन्छ । गौरीटापु, चाँगेस्थानलगायत धार्मिक स्थलका रुपमासमेत चिनिएको पत्तालेमा विभिन्न प्रजातिका लालीगुराँस र जडीबुटीसमेत पाइन्छ । पत्तालेमा शेर्पा, मगरलगायत जातिको बसोवास छ ।

खानेबस्ने सुविधा

पत्तालेमा सुविधा सम्पन्न होटल त छैनन् तर खान र बस्नको कुनै समस्या हुँदैन । हिमाली होमस्टे तथा मध्ययमस्तरका होटलहरुमा न्यानो सत्कार, मिठो परिकार र सुकिलो बिछ्यौना पाइन्छ । बुङमा रोपिएको आलुको परिकार, उच्च पहाडी भेगमा रोपिएको गहुँ, कोदो तथा फापरको ढिँडो, लोकल कुखुराको मासु, टिम्मुरको अचारलगायतका स्थानीय खानाको स्वाद पाइन्छ भने इच्छा अनुसार चलनचल्तीका खानेकुरा पनि पाइन्छ । तपाईं काठमाण्डौलाई केन्द्र बनाएर पत्ताले जाने सोचमा हुनुुहन्छ भने करिब पाँच हजार रुपैयाँ खर्च पर्याप्त हुन्छ । जसको लागि एक दिनमा पत्ताले पुगेर भोलिपल्ट बिहान दृष्यावलोकन गरी फर्कन सकिन्छ । यदि एक दिन आरामले घुम्न चाहनुहुन्छ भने आउन जानसहित तीन दिन लाग्छ ।

उपयुक्त मौसम

पत्ताले घुम्ने उपयुक्त समय कात्तिकदेखि वैशाखसम्म हो । यो बेला पत्तालेको मौसम खुला हुने हुँदा सगरमाथा लगायतका हिमश्रृंखला छर्लङ्ग देखिन्छ । नुम्बुर हिमाल निकै नजिक छ भने अरु हिमालको दृष्य पनि सजिलै देखिन्छ । दर्जनौँ हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर लिन पत्ताले उपयुक्त ठाउँ हो । चैत वैशाखमा लालीगुराँस लगायतका गुराँसले बनै रंगीन हुन्छ । लेकाली चाउरहरुमा रमाउनका लागि आन्तरिक पर्यटकको घुईंचो लाग्ने गरेको छ । पत्तालेमा हिमाली होमस्टे सञ्चालन गर्ने प्रकाश मगर भन्नुहुन्छ ‘अहिले बिहान घुम्न आउने तथा रात बिताउने पर्यटकसमेत बढिरहेका छन्, मुख्य आकर्षण सगरमाथालगायतका हिमालसहित सूर्योदयको दृष्य हो ।’

यो पनि पढ्नुहोस
मंसिर ६, २०७६ दाङ : दाङको घोराहीमा एकै ठाउँमा ५० भन्दा बढी प्रकारका चिया पाइने पसल संचालनमा आएको छ। करिब १० लाख लागतमा घोराही उपमहानगरपालिका १५ काठेकोहोल चोकमा खुलेको किट्ली टि टाउनमा ५० बढी प्रकारका चिया पाइने भएको छ। स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा चर्चित मानिएका चिया अब एउटै ठाउँमा पाइने गरी किट्ली टि टाउन सञ्चालनमा ल्याएको संचालक अनु क्षेत्रीले बताइन्। ‘नेपालमा पनि लामो समयदेखि चिया खाने प्रचलन सुरु भएको छ, र अहिले चिया मानिसको जीवनको अभिन्न अंगको रूपमा हेर्न थालिएको छ’ उनले भनिन् ‘त्यसैलाई मध्यनजर गरी जिल्लामा पहिलो यस्तो व्यवसाय सुरु गरेको हो।’ नेपालका विभिन्न स्थानमा पाइने चिया र अन्तर्राष्ट्रिय बजारमा पाइने चिया अब किट्ली टि टाउनमा पाउन सकिनेसमेत उनले बताइन्।

गाउँघरमा पाइने विभिन्न जडिबुटीका चियादेखि दाङमा पाइने सामान्य चिया र नेपालका विभिन्न स्थानमा पाइने चियासमेत किट्ली टि टाउनमा पाइने अर्की सञ्चालिका हिमानी डिसीले बताइन। ‘दाङमा अहिलेसम्म सामान्य रुपमा मात्र चिया पिउने गरेको पाइन्छ, अहिले चियासँग मानिसको स्वास्थ्य र प्रतिष्ठासमेत जोडेर हेर्ने गरिएको छ’ ,उनले भनिन्, ‘एउटै पसलमा ५० भन्दा बढी प्रकारका चिया पाउने ठाउँ बनेको छ, शरीरको स्वास्थ्यलाई ख्याल गरेर चिया पिलाउने वातावरण बनाएका छौँ।’ चिया मानव शरिरको लागि फाईदाजनक पिय पदार्थ हो। तर प्राय मानिसले चियाले पेटलाई समस्या गर्छ भन्ने तरिकाले बुझ्ने गरेको उनको भनाइ छ। ‘चिया भनेको मान्छेको मुडअनुसार पिउने कुरा हो। चिया पिउनका लागि मात्र होइन, यसले शरीरलाई ताजापन दिन्छ, स्वफुर्ती बढाउछ’, सञ्चालक क्षेत्रीले भनिन्, ‘चियाले सम्बन्ध बढाउनेदेखि सिर्जनशीलतासमेत बढाउने गरेको अध्ययनले देखाउछ, हामीलाई थाहा छ, अक्सर गहिरो अध्ययन गर्ने, लेख्नेले चिया बढी पिउने गर्छन्।’ जिल्लाको विकासमा एउटा सानो गति दिनको लागि समेत फरक खालको व्यवसाय सञ्चालन गरेको क्षेत्रीको भनाइ छ। ‘जिल्लामा पहिलो भएका कारण सञ्चालनमा समस्या हुन्छ भन्ने बुझाइ पनि छ, तर त्यसो हैन’ उनले भनिन्, ‘एकै ठाउँमा ५० बढी चिया पाउने ठाउँ सबैको आकर्षणको केन्द्र बन्छ भन्ने आशा छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार