सागर अधिकारी, सागर विशाल हुन्छ, थरिथरि प्रजातिका साना र ठूला जिवजन्तुहरु यस भित्र पौडिएका हुन्छन् । जन्मभूमि कर्मभूमि सारा संसार पानी हो माछाको । जाल हान्ने माझी हुन्छन् र माझीको सधैँ डर छ माछालाई । माझी पनि आईराख्छन्, माछा उम्कने कोसिस गर्छ र कहिले झुक्किएर जालमा परिनै हाल्छ ।
खाडी एक विशाल सागर हो नेपाली युवायुवाहरुको लागि किनकी यहि कर्मभूमिले उनीहरु लगायत आफ्नो परिवारको पेट पालेको छ । तलब नपाएर भोकै भएका नेपालीहरु, खाडाीमा जेल जीवन बिताएका नेपालीहरु र दुर्भाग्यमा फसेका नेपालीहरु जालमा परेका माछा हुन् र उनीहरु उम्किन चाहन्छन् । माझीहरु तलब नदिने कम्पनीका मालिकहरु र केही गलत नेपाली मेनपावर कम्पनीहरु हुन् जसको कारणले नेपाली बिदेशमा अलपत्रर परेका छन् । केही मेनपावरहरुले नेपालीहरुलाई आकर्षक तलब र सुबिधा दिने कम्पनीमा जागिर मिलाईदिएर पुण्य कमाएका छन् भने केहि मेनपावरको लापरवाही र ठग प्रवृतिले नेपालीले बिदशेमा दुःख पाएका छन् यसकारण मेनपावरको नाम कलङ्कित भएको छ ।
खाडीको दुःखको महासागर शान्त थियो । यो महासागरमा भुकम्प बनेर आए रामचन्द्र तिमिल्सिना र सुनामी आयो । देश बिदेश नेपाल जताततै हल्ला मच्चियो । एक मात्र होइन रहेछ साउदीमा ब्लड मनि तिर्नु पर्ने चार पाँच जनाको नाम आयो । साउदी लगाएत खाडीको जेलमा हजारौँ रहेको, बिदेशमा धेरै नेपाली अलपत्रमा रहेको समाचार सुनामीको छालसरि उर्लियो । खाडीमा रहेका नेपालीहरु, गैर आवसिय नेपाली संघ, संघ संस्थाहरु, मिडिया सबैले खाडीको यथार्थ समस्याहरु सुनाउन थाले ।
रेमिट्यान्सले देश धानेको छ, वाह वाह खाडीका नेपालीहरु भनेर फुर्काउन मात्र चाहन्छ नेपाल सरकार । खाडीमा भएको पिडा महसुस गर्दैन नेपाल सरकार र उनीहरुको उद्धारको लागि ठोस कार्य गरको नै छैन । अहिले पिडाको सुनामी आएको कारणले थोरै चासो मात्र राखेको छ भन्ने सुन्नमा आएको छ । साधारण रुपमा बुझदा खाडीमा भएको पिडाहरु दबाईएका र दबिएका छन् ।
खाडीमा साना, मझौला र ठूला अनगिन्ती समस्याहरु छन् । सबै पिडित नेपालीहरुको सरकारसँग एक मात्र माग हो सरकारले उनीहरुको समस्या बुझोस् र समाधानको उपाय निकालोस् । परदेशको पिडा साह्रै नै दुःखदायी र सहन नसकिने खालको हुन्छ एक परिवारसँगको बिछोड अर्को आफै समस्यामा । “सबै नेपालीहरु समान छन:पिडित नेपालीको उद्धारको अभियान” भन्ने भनाई नेपालीहरुको हो, नेपाल सरकारले यसलाई बुझेर खाडी मुलुक लगायत बिदेशमा पिडित नेपालीहरुको लागि उद्धारको लागि शिघ्र ठोस कदम चाल्न यो लेखक नेपाल सरकार समक्ष बिनम्र अनुरोध गर्दछ ।
धन्यवाद ।
(सागर अधिकारीले लेखेको यो लेख सामाजिक सञ्जाल बाट साभार गरिएको हो)