एकमहिने गढीमाई मेलामा हजारौं पशुब’लि, जे माग्यो त्यही पूरा हुने बिशवास

मंसिर ७, २०७६ बारा : विश्व प्रसिद्ध बाराको गढीमाई मेला ३ मंसिर आइतबारदेखि सुरु भइसकेको छ। बाराको महागढीमाई नगरपालिका १ बरियारपुर गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा एक महिने मेलामा लाखौं श्रद्धालु पुग्छन्। एक महिने मेलामा ७० लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गर्ने अनुमान गरिएको मेला व्यवस्थापन मूलसमितिका महासचिव मोतिलाल कुशवाहाले बताए। मेलामा भारतीय तथा स्वदेशी भक्तजनहरुको निकै ठूलो सहभागीता हुने गर्छ।

नेपालसहित भारत, भुटान तथा अन्य देशबाट पनि भक्तजन बारामा आउँछन्। यस्तो छ व्यवस्थापन वर्षौदेखि मेला सञ्चालन गर्दै आएको गढीमाई मन्दिर सञ्चालन तथा व्यवस्थापन समिति र महागढीमाई नगरपालिकाले पहिलोपटक मेलाको व्यवस्थापन गरिरहेका छन्। मेलाका लागि ७२ सदस्यीय मूलव्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ। पशुबलिको समयमा भक्तजनको धेरै भिड लाग्ने हुँदा त्यसै अनुसारको तयारी भइ रहेको मेला मूलसमितिले जानकारी दिएको छ।

मेला सुरु भएपछि श्रद्धालुहरुको संख्या बढ्दै जाने गरेको र श्रद्धालुहरुको सेवा सुविधाको लागि मेला क्षेत्रमा पाँच सय शौचालय र एक सय ५० भन्दा बढी चापाकलको व्यवस्था गरिएको महागढीमाई नगरपालिकको प्रमुख उपेन्द्र यादवले बताएका छन्। एकमहिने मेलामा ७० लाखभन्दा बढी श्रद्धालुहरुले मन्दिरको दर्शन गर्ने र श्रद्धालुहरुलाई रातिको बासको नि:शुल्क टेण्टको व्यवस्थाको गरिएको यादवले दाबी गरे। नि:शुल्क सेवा दिन उदेश्यले निर्माण गरिएको टेण्टमा एक पटकमा ८० हजारदेखि एक लाख श्रद्धालुहरु बस्ने सकिने यादवले बताए।

सुरक्षा तयारी लाखौंको संख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका लागी मुख्य चुनौती बन्ने गरेको छ। मंसिरको दोस्रो सातादेखि मेलामा भीड बढ्ने छ। पशुबलिको समय नजिकिएपछि मेलामा भक्तजनको भीड बढ्ने गर्दछ। बलिको समयमा दशौँ लाख भक्तजनले गढीमाईको दर्शन गर्ने अपेक्षा गरिएको छ। गढीमाई मेलालाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिले विशेष रणनीति बनाएको छ।

मेलामा भक्तालुको भीड बढ्दै गएपछि आवश्यकता अनुसार एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी सुरक्षा समितिको छ। बाराका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समिति संयोजक फणिन्द्रमणी पोखरेलले मुख्य भीड हुने समयलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने बताए। सुरक्षा ब्यवस्थामा कुनै सम्झौता नगर्ने बाराको प्रहरी उपरीक्षक बिकाश राज खनालले बताए। गढीमाई मन्दिरमा डिएसपीको कमान्डमा टोली परिचालन गरिएको बताए। कुनै किसिमको अपराधी क्रियाकलाप हुन नदिन सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी बढाइएको उनले बताए।

(श्रोत:थाहा खबर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार