‘सीमा बचाऊ अभियान’ले सार्वजनिक गर्याे नेपालकाे यस्तो नक्सा…

काठमाण्डौ – नागरिक समाजका तर्फबाट गठन गरिएको ‘सीमा बचाऊ’ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । 

नक्सा सार्वजनिक गर्दै अभियानका विज्ञ प्रा. डा. नरेन्द्रराज खनालले डिजिटल एलिभेसन मोडेलबाट नक्साको रेखांकन बताउनु भयो । नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रस्ट पारिएको उहाँले जानकारी दिनुभयो । 

सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जनाउनु भयो । 

नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो । सार्वजनिक गरिएको नक्सा सुगौली सन्धिअनुसारको छ ।’ भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएकाले नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उहाँको भनाइ थियो । 

नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको बताउनुभयो । पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउण्टर गर्न नक्सा सार्वजनिक गर्नुपर्ने र गरिएकोमा खुशी व्यक्त गर्नुभयो । 

त्यस्तै पूर्व सचिव तथा अभियानकर्ता डा. द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारसम्म पुर्‍याउने जानकारी दिनुभयो ।
(श्रोत:उज्यालो)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार