जबर्जस्ती अन्तरवार्ता लिने विरुद्ध उजुरी हाल्दै भाईरल कमलाका बुवा

काठमाडौँ । सानो उमेरमै आफ्नो पहिचान बनाउन सफल बालगायिका कमला घिमिरेका लागि प्रसिद्धि र सफलता यतिबेला चुनौती बनेको छ । ११ वर्षमै लोकदोहोरी मार्फत उनी अहिले ‘सेलिब्रेटी’ जस्तै बनेकी छिन् । 

त्यही भएर मिडिया, अझ खासगरी युट्युव च्यानलहरुको रोजाइमा उनी पर्ने गरेकी छन् । तर, अन्तरवार्ताका नाममा घुमाउरो प्रश्न गर्ने र आफूलाई चाहिएको भाषाशैलीमा बोल्न बाध्य परिस्थिति खडा गरेर सामाजिक मर्यादा र परिवारका सदस्यहरुको आत्मसम्मानमा चोट पुगेको थालेको स्वयम् कमला बताउँछिन् । 

आफ्नो कलामार्फत छोटो समयमा ख्याति आर्जन गरेकी कमला दैनिकजसो दुई–चारवटा युट्युव च्यानललाई अन्तरवार्ता दिन बाध्य हुन्छिन् । पछिल्लो समय उनको अन्तर्वार्ता लिन युट्युबरहरुको धुइरो लाग्न थालेपछि बुबाले जथाभावी अन्तरवार्ता नदिन सुझाव दिए ।

हुन पनि उनलाई युट्युबरहरुले दिनरात, बिहान–बेलुका नभनी पछ्याउँछन् । जसका कारण उनले न राम्रोसँग पढ्न पाएकी छन्, न त खान नै । यसकारण घरमा युट्युबरहरुलाई रोक लगाउनु परेको उनका बाबु कल्याणप्रसाद घिमिरेको भनाइ छ ।

धादिङ साङकाेशकी कमलाको घरमा जान नपाएपछि युट्युबरहरु उनी अध्ययनरत विद्यालयमै पुगेर अन्तरवार्ता लिन थालेका छन् । जति छोटो समयमा उनी भाइरल भइन्, त्यति नै छोटो समयमा उनी आफ्नो अन्तरवार्तालाई रोचक तथा विवादास्पद खालका शीर्षक राखेर युट्युब च्यानलमार्फत सार्वजनिक गरेर बढीभन्दा बढी रकम आर्जन गर्ने ‘युट्युबे’ प्रवृत्तिबाट हैरान भएकी छन्। अहिले युट्युबरहरुमा स्कुलमै पुगेर उनको कक्षा छुटाएर 

कमलाका बुबा कल्याण युट्युबरको यो प्रवृत्ति देखेर दिक्दार भएका छन् । त्यसैले पनि उनले युट्युबरविरुद्ध उजुरी दिने चेतावनी नै दिएका छन् ।  उनले आफ्नो छोरी कमलालाई अन्तरवार्ताका लागि दुःख दिने तथा आफू र आफ्नो परिवारका बारेमा नकारात्मक सामग्री प्रसारण गरेर भ्रम फैलाउने सबैका विरुद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी दिने मनस्थिति बनाएको बताए ।

‘जबर्जस्ती अन्तरवार्ता लिने र असान्दर्भिक प्रश्न सोध्नेविरुद्ध उजुरी हाल्दैछु’, कल्याणले रातोपाटीसँग कुरा गर्दै भने ‘मिडिया हुँ भन्दैमा अरूको इच्छा विपरीत जथाभावी गर्न पाइन्छ र ?’ आफ्नो र छोरीको समाचार बङ्ग्याएर युट्युबहरु पैसा कमाउने धन्दामा लागेको उनको आरोप छ । 

यता मनोविद् गोपाल ढकाल सामाजिक सञ्जाल मार्फत बालबालिका भाइरल हुँदा मानसिक र शारीरिक दुबै कुरामा समस्या हुने बताउँछन् । ‘संसारका सबै बालबालिका क्षमतावान हुन्छन् तर कसैको छिट्टै प्रतिभा प्रष्फुटन हुन्छ त कसैको ढिलोगरी हुन्छ’, उनले भने, ‘तर बालबालिकाको खेल्ने, अध्ययन गर्नेजस्ता प्राकृतिक रुपमा सामान्य जीवन जिउँनु पर्ने समयमा चर्चामा आउँदा तनाव धेरै हुने र पछि मानसिक समस्या पनि हुनसक्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार