काठ्माडौ, बजारमा प्याजको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन्। प्रतिकिलो ४० रुपैयाँमा पाइने प्याज अहिले एक सय ९० देखि दुई सय रुपैयाँ पुगेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजारमै अहिले प्याजको होलसेल मूल्य एक सय ७० रुपैयाँ छ। भने खुद्रा मूल्य दुई सयसम्म पुग्नु सामान्य हो। जसले गर्दा उपभोक्ताको भान्छामा प्याज पुग्न सकेको छैन। कालीमाटी फलफूल तथा तरकारी बजारका व्यावसायी केशव श्रेष्ठले भारतबाट सामानहरू ल्याउनमा रोक लागेपछि प्याजको भाउ बढेको बताए।
भारतबाट प्याज नआउँदा बढी मूल्य
‘भारतबाट नेपालमा प्याज नै आउन सकेको छैन,’उनले भने,‘प्याज धेरै आयो भने मूल्य घट्छ। आएन भने बढ्छ। नेपालको प्याज छैन। सबै बाहिरबाट ल्याउनुपर्छ। उनका अनुसार चाइनिज प्याज ठूलो क्वालिटी गरी एक सय ७० देखि एक सय ४० रुपैयाँसम्ममा बेच्दै आएका छन्। इण्डियन प्याज एक सय ७० देखि एक सय ७५ रुपैयाँ सम्ममा बेच्दै आएका छन।
कालीमाटी बजारमा नेपालको प्याज चैत र वैशाख महिनामा मात्रै आउने गरेको उनले बताए। उनले भारतबाट प्याज निर्यात हुन नसके अझै मूल्य बढ्न सक्ने बताए। उक्त बजारका अर्का व्यावशायी विमल बस्नेतका अनु्सार इण्डियन प्याज धेरै बिक्री वितरण हुन सकेको छैन।
अहिले चाइनिज प्याजको मात्रै बढी माग भइरहेको छ। न्यूनस्तरका व्यक्तिहरूले प्याज लानै छोडेको समेत उनले बताए। ‘भारतमा धेरै बाढी,पहिरो भएपछि नेपालमा प्याज पठाउन दिएको छैन,’उनले भने,‘नेपाल सरकारले पनि बाहिरी वस्तुहरू ल्याउनमा कडाइ गरेपछि प्याज बाहिरबाट आउन सकेको छैन। त्यसैले प्याजको मूल्य आकाशिँदै गएको छ।’ नेपालमा धेरै प्याजको उप्पादन गरे मात्रै यसको समस्या हट्ने उनको भनाइ छ।
उपभोक्ताले किन्नै छाडे प्याज
प्याजको भाउ महँगिएर उपभोक्ता मारमा परेसँगै प्याज खरिद गर्न नसक्ने अवस्थामा पुगेको व्यवसायी बताउँछन्। इच्छुमती सामुदायिक कृषि बजार, टुकुचाका व्यवसायी उर्मिला पाण्डेले राज्यले अनुगमन वा कूटनीतिक पहल गरे मात्रै प्याजको भाउ घट्न सक्ने बताइन्। उनले भनिन्,‘भारतबाट नेपालमा प्याज भित्रिन नसक्दा यसको मूल्य वृद्धि भएको छ। प्याजको मूल्य बढेपछि उपभोक्ताले किन्नै छोडेका छन्। बढी उपभोक्ता मारमा पर्दे गएकाले राज्यले पहल गरेर यसको भाउ घटाउनुपर्छ।’
प्याज किन्नुभन्दा मासु नै किनेर खाइन्छ
प्याजको मूल्य बढेसँगै कम मात्रामा प्याज खरिद गरेको उपभोक्ता बताउँछन्। कालीमाटी तरकारी बजारमा भेटिएका कालीमाटीकै विनिता मानन्धरले प्याजको भाउ धेरै बढेपछि प्याज खानै छोडेको बताइन्।
‘प्रतिकिलो ४० रुपैयाँमा पाइने प्याज अहिले एक सय ९० रुपैयाँ पुगेको छ,’उनले भनिन्,‘यति धेरै मूल्य तिरेर कसले प्याज खान्छ? उनले थपिन्, ‘पहिले धेरै प्याज किन्थेँ अहिले किन्न छोडेँ। प्याज खानुभन्दा मासु नै किनेर खाइन्छ।’
सरकारले कुनै न कुनै तरिका अपनाएर र जनताको स्थिति हेरेर भए पनि प्याजको मूल्य घटाउनुपर्ने उनले बताइन्। प्याजको मूल्य बढेपछि प्याज खरिदमा धेरै कम गरेको कालीमाटी बजारमा भेटिएका बल्खुका विना श्रेष्ठले बताइन्।
यो पनि पढ्नुहोस
काठमाडौं, १० मंसिर । सशस्त्र प्रहरी बलमा एआइजी बढुवाको राजनीति उत्कर्षमा पुगेको छ । आफूलाई भावी आइजिपीको दाबेदार ठानेका डिआइजी सुरज श्रेष्ठको अवकाश मिति नजिकिएपछि चलखेल बढेको हो ।
डिआइजीको पाँच वर्षे सेवाहदका कारण श्रेष्ठले आगामी फागुनमा अवकाश पाउँदैछन् । त्यसअघि नै एआइजीको दरबन्दी थपेर बढुवा हुने लबिङमा उनी छन् । तर, सरकारले सशस्त्र प्रहरीमा अनाबश्यक एआइजी भएको भन्दै डेढ वर्षअघि राजिनामा दिन लगाएर दरबन्दी कटौती गरेको थियो । सशस्त्र प्रहरीमा दुई जना मात्र एआइजी राख्ने निर्णय भएकोहा हाल तीन जना कार्यरत छन् । यस्तो अवस्थामा एआइजीको दरबन्दी थप्न गृह मन्त्रालय तयार छैन । तर, पनि डिआइजी श्रेष्ठले प्रधानमन्त्री निकट व्यक्तिहरुलाई भेटेर मनाउने प्रयास जारी राखेका छन् ।
सशस्त्र प्रहरीमा अबको दुई वर्षपछि आइजिपी परिवर्तन हुँदैछन् । यद्यपि, आइजिपीको कार्यकाल तीन वर्ष बनाउनेबारे छलफल भइरहेको छ । यो अवस्था आगामी वर्ष नै आइजिपी हेरफेर हुन सक्छ ।
अहिले एआइजी भएमा श्रेष्ठ शैलेन्द्र खनालपछि आइजिपी हुने पक्का छ । तर, त्यसपछिका आइजिपीका दाबेदार रहेका राजु अर्यालको ब्याच श्रेष्ठलाई रोक्न लागिपरेका छन् । आइजिपी खनाल भने श्रेष्ठलाई एआइजी बनाउने पक्षमा छन् । तर, पनि गृह मन्त्रालयले प्रस्ताव अघि बढाउनै इच्छा नदेखाएपछि डिआइजी श्रेष्ठ निराश बनेका छन् ।