चर्चित क्रिकेटर सन्दीप लामिछानेको आँखाको लेजर शल्यक्रिया…

रिया भण्डारी,काठमाडौं/ तिलगंगा आँखा प्रतिष्ठानको रिफ्र्याक्टिभ सर्जरी युनिटमा नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेको आँखाको लेजर सर्जरी गरिएको छ ।प्रतिष्ठानका रिफ्र्याक्टिभ सर्जन डा.शाश्वत ढुंगेलले लामिछानेको सर्जरी गरेका हुन् । डा. शाश्वत भन्नुहुन्छ, “ लेजर सर्जरीमा यो एकदमै नयाँ पद्दति हो जुन नेपालमा तिलगंगा आँखा प्रतिष्ठानमा मात्र उपलब्ध छ ।

आँखामा पावर भएको र चश्मा लगाउन नचाहनेका लागि लेजर सर्जरी सेवा एकदमै प्रभावकारी रहेको छ । यो सर्जरी –०.५ देखि –१४ सम्मको पावर भएकालाई गरिन्छ । लेजरको अरु पद्धतीभन्दा यो पद्धतीमा सुख्खापन कम हुने, घाउ छिटो पुरिने आदि हुन्छ ।”

सन्दीपको उपचारका सन्दर्भमा डा.शाश्वत भन्नुहुन्छ शल्यक्रिया पश्चात दृष्टि क्षमता एकदमै राम्रो आएको छ ।विश्वका अन्य मुलुकहरुमा यो एकदमै महंगो प्रविधि भएकोले शल्यक्रिया शुल्क पनि महंगो छ तर नेपालमा प्रतिष्ठानले अन्य मुलुकभन्दा सस्तोमा उपलब्ध गराएको छ ।

त्यसैले विश्वका धेरै मुलुकहरुबाट विदेशी तथा गैरआवाशीय नेपालीहरु यस शल्यक्रिया गराउन प्रतिष्ठान आउने गरेका छन् ।प्राय जसो गैरआवाशीय नेपालीहरु विदेशमा शल्यक्रिया गराउँदा लाग्ने खर्चले नेपाल भ्रमण लगायत परिवार आफन्तजन तथा साथीभाईसँगको भेटघाट र आँखाको उपचार पनि हुने भएकोले बढी आउने गरेका छन् ।

विदेशीको हकमा पनि शल्यक्रिया साथै नेपाल भ्रमण दुवै हुने भएकोले यसले नेपालको मेडिकल टुरिजम ( स्वास्थ्य पर्यटन) लाई पनि टेवा पुर्याएको छ । नेपालमा यो सेवा शुरु हुनु अगाडि धेरै नेपालीहरु विदेश जाने गर्थे । अहिले प्रतिष्ठानमा उपलब्ध यस सेवाले गर्दा विदेशीने रकम नेपाल भित्रै रहने भएको छ ।

शल्यक्रिया पश्चात सन्दीप लामिछानेले भने, “टाढाको वस्तु देख्न समस्या भएपछि चश्मा लगाउनुको विकल्पमा मैले यो सर्जरी गरेको हुँ । विदेशमा पनि बुझेको थिए यस सम्बन्धि तर आफ्नै देशमा गर्ने सोंच भएकोले यहाँ गराए । म एकदमै खुशी तथा सन्तुष्ट छु । शल्यक्रिया पश्चात भिजनमा सुधार भएको छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार