प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका देउवाले भेट्न पाएनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन् । उनी बुधवार दिउसो अस्पताल पुगेका हुन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक सेन्टरमा पुगेर देउवाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

तर, देउवाले ओलीलाई भेट्न भने पाएनन् । एपेन्डिसाइटिसको अप्रेसनपछि ओलीलाई भेट्न कसैलाई पनि दिइएको छैन । संक्रमण हुने जोखिम भएका कारण उनलाई उच्च निगरानीमा उपचार भइरहेको छ । यद्धपी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारउन्मुख छ । प्रधानमन्त्री ओली कुराकानी गर्न सक्ने भएका छन् । बुधवार विहान पत्नी राधिका शाक्यको सहयोगमा उनले कालो चिया खाएका छन् ।

ओलीको स्वास्थ्यबारे उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य अवस्था बारे देउवालाई जानकारी गराएका थिए । ‘ओलीजीको स्वास्थ्यमा सुधार आएको र अहिले उहाँ बोल्न थाल्नुभएको छ चिकित्सकले देउवालाई भनेका छन् । चुनावी सभामा सहभागी भएर काठमाडौं फर्केलगत्तै देउवा ओलीलाई भेट्न अस्पताल पुगेका थिए ।

देउवाअघि बुधबार बिहान नेपाल प्रहरीका आईजी सर्वेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापाले टिचिङ पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरूलाई पनि भेट गर्न दिइएन । अस्पताल पुगेर फर्केपछि देउवाले फेसबुकमा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै स्टाटस लेखेका छन्

शिक्षण अस्पतालको सघन कक्षमा उपचार गराईरहनु भएका प्रधानमन्त्री एवं मेरा मित्र केपी शर्मा ओलीजीको स्वास्थ अवस्थाका बारेमा आज अस्पताल पुगेर जानकारी लिएँ।चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आईरहेको छ।म उहाँको शिघ्र स्वास्थ लाभको कामना गर्दछु।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार