दुवै जना अर्घाखाँचीको नरपानीमा भएको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका हुन् । उनीहरूको अवस्था अहिले खतरामुक्त रहेपनि आँखै अगाडि १९ जनाको ज्यान जानेगरी भएको सो घटनाबाट झस्कि रहन्छन् । रिजनको टाउकोमा सेतो पट्टी, दाहिने खुट्टा भाँचिएको र हातमा चोट लागेको छ ।
उनी एकोहोरो आमाको मुखमा हेर्दै रोइरहन्छन् । बसबाट ओर्लिन केही समय जतिको बाटो मात्रै बाँकी हुँदा उनीहरू रहेको बस दुर्घटनामा परेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
‘बस एकदम कुदेको थियो । म बच्चासँग साथमा थिए । बसका चालक र बस मालिकले अगाडि बसेर के के कुरा गरिरहेका थिए, मैले सुनिनँ’, घटना अगाडिको पल सम्झिदै २३ वर्षीय सपनाले भनिन्, ‘हामी अलि पछाडि थियौँ । तर, घुम्ती आउनसाथ एक्कासी ठूलो आवाज आयो ।
त्यसपछि मैले केही थाहा पाइनँ । अलिअलि चिच्याएको आवाज सम्झन्छु । म बससँगै तलै खसेको थिएँ रे ।’ उनी होसमा आउँदा बुटवल अस्पतालमा रहेको थाहा पाइन् । उनले दुर्घटनाको कारण बसको तीव्र गति नै रहेको भन्दै भनिन्, ‘भाग्यले बाँचियो । छोरा पनि बाँच्यो ।’
रिजनजस्तै अस्पतालमा कपिलवस्तु कोईली बनगाँईका–३ वर्षीय स्पर्श पोखरेलको पनि उपचार भइरहेको छ । उनको पनि टाउकोमा चोट लागेको छ । आमा विमला पोखरेल पनि घाईते अवस्थामा छिन् । उनको मेडिकल कलेजमा उपचार भइरहेको छ । विमलाको कान्छा छोरा ३ महिनाका शोभाखर पोखरेलको निधन भएको छ ।
त्यसैगरी सन्धिर्खक नगरपालिका–७ खाँचीकोटका १ वर्षीय गणेश पुरी पनि घाईते अवस्थामा चौराहा अस्पतालमा उपचार भइरहेको छ । उनकी आमा माया पुरीको भने घटनास्थलमै निधन भएको प्रहरीले जानकारी दिएको छ ।
१९ जनाको ज्यान जानेगरी भएको अप्रत्याशित दुर्घटनाले अर्घाखाँची शोकमग्न छ । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार सन्धिखर्क नगरपालिकाको नरपानीमा बाटोभन्दा नौ सय मिटर तल खसेको थियो । तीव्र गतिमा दौडिरहेको बसले आफ्नो नियन्त्रण गुमाएर सडकबाट तल खसेको थियो ।
दुर्घटनामा घाइतेहरूको उपचार रुपन्देहीका अस्पतालहरूमा भैरहेको छ । बुटवलस्थित चौराहा अस्पतालमा ९, क्रीमसन अस्पतालमा २, भैरहवा मेडिकल कलेजमा ४ जनाको उपचार चलिरहेको छ जसमा ३ जना विशेष उपचार कक्ष आइसियुमा उपचाररत छन् ।