काठमाडौं । विदेशमा केटा–केटा वा केटी–केटीबीच बिहे भएको खबर सुनिन्थ्यो। तर, नेपालमै पहिलोपटक धार्मिक विधि अनुसार केटाकेटाको नै बिहे भएको छ।
सौरभ तामाङ र सुरज क्षेत्री नाम गरेका केटाले ललितपुरमा समलिंगी विवाह गरेका छन्। परिचय समाजको कार्यालय कुपण्डोलमा पण्डितबाट उनीहरुले विवाह गरेका हुन् ।
उनीहरुको विहेलाई दुवैको परिवारले स्वीकारेको छ। सौरभकी आमा विनिता तामाङले सुरजलाई बुहारीको रुपमा स्वीकार गरेको बताइन्।
आफ्नो छोरोको सन्तुष्टिमा आफू खुशी रहेको विनिताले बताइन। उनले केटा–केटा भएपनि छोरा बुहारीको सम्बन्ध लामो समय राम्रो होस् भनेर कामना समेत गरिन्। झापामा रहेकी सुरजकी आमा बिरामी भएका कारण बिहेमा आउन नसकेको उनले बताए ।
उनीहरुको चिनजान फेसबुकबाट भएको थियो। सोही सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरे। बेहुली सुरज मेकअप आर्टिष्ट हुन् भने बेहुला सौरभ पनि जागिरे छन्।
दुई बर्ष अगाडि फेसबुक मार्फत पहिलो कुराकानी भएर विवाह गर्ने निष्कर्षमा पुगेको सौरभ र सुरजले बताए।बिहेपछि एकअर्कालाई साथ सहयोग गर्दै श्रीमान-श्रीमतीको भूमिकामा बस्ने उनीहरुले बताए।
विवाहित जोडीले आफु जस्ता समलिंगी पुरुषलाई लुकेर नबस्न आग्रह गरे। नेपालमा हालसम्म समलिंगी विवाहलाई कानुनी मान्यता दिइएको छैन।
समलिंगी विवाहको कानून बनेपछि आफूहरुले विवाह दर्ता गर्ने उक्त जोडीको योजना छ।
सर्वोच्च अदालतले २०६४ पुस ६ गते दिएको आदेश अनुसार बनेको समलिंगी विवाह अध्ययन समितिले ६ बर्ष अगाडि समलिंगी विवाहलाई मान्यता दिनुपर्ने निष्कर्ष सहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। तर, हालसम्म यस्तो विवाहलाई कानूनी मान्यता दिने सम्बन्धी कानून नेपालमा छैन।