भाकल पूरा भएपछि भाँडाकुँडा चढाउनु पर्ने ‘आदिनाथ लोकेश्वर मन्दिर’को अनौठो किंवदन्ती (भिडियो)

’काठमाडौं चोभारको आदिनाथ लोकेश्वर मन्दिरमा कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पू्र्णिमासम्म मेला लाग्छ । एक महिनासम्म मेला लाग्ने मन्दिरसँग निकै रोचक किंवदन्ती जोडिएका छन् ।

बिहानै झिसमिसे उज्यालोमा कोही धमाधम उकालो चढ्दै छन् । कोही ओरालो झरिरहेका छन् । चोभारमा सडकबाट झन्डै १० मिनेट उकालो लागेपछि डाँडामा रहेको लोकेश्वर मन्दिर पुगिन्छ ।

जहाँ वयस्क मात्र होइन भरखरका युवायुवती देखि बुढाबुढीसम्मका पनि छन् । यहाँ बर्षमा एकपल्ट जात्रा लाग्छ । जात्रामा रमाउन हरेक वर्ष भीड नै लाग्ने गरेको छ ।

जात्राको रमाइलो त आफ्नै ठाउँमा छ, मन्दिरका भित्तामा चारैतिर टाँसिएका भाँडाकुँडाको दृष्य पनि अनौठो लाग्छ । यसको रोचक कथा छ।

श्रीमानको मृत्युपश्चात श्रीमती माइत गएर बसेमा घरका अन्य सदस्यले बुहारीले दाइजोमा ल्याएका भाँडाकुँडा प्रयोग गर्न हुँदैन भनी मन्दिरमा चढाउने गरेको किंवदन्ती छ ।

त्यो किंवदन्ती अनुसार, अहिले घरका सदस्यको मृत्यु भए उसको नाममा र भाकल पूरा भएपछि भाँडाकुँडा चढाउने गरिएको छ । यो मन्दिरसँग जोडिएको अर्को किंवदन्ती झनै अनौठो छ।

श्रीमान्–श्रीमती विभिन्न कारणले अलग छन् भने त्यो सम्बन्ध पुनः जोड्ने वा विच्छेद गर्ने भन्ने निर्णय मन्दिरमा बस्ने एक व्रतबाट हुन्थ्यो भन्ने भनाइ छ। यो मन्दिरमा आएर निर्जल व्रत बसे विवाह हुने विश्वास अझै पनि छ।

किंवदन्ती जे भएपनि अहिले भने परिवारको सुस्वास्थ्य र सुखका लागि व्रत बस्ने धेरै छन् । प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन सुरु हुने व्रत पाँच दिनपछि पूर्णिमाका दिन सकिन्छ । अन्तिम दिन व्रतालुलाई घरका सदस्यले लिन आउने चलन छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार