काठमाडौं | नायिका स्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्विकार गर्लान् ? भन्ने प्रश्न पनि सोधेकी थिइन् ।

स्वेताले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’ स्वेता नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, करिब एक महिनापछि २०७१ साल साउन २५ गते उनको उपचारका क्रममा भारतमा निधन भएको थियो । स्वेताले ‘कहाँ भेटिएला’, ‘श्रीमान् श्रीमती’, ‘हासी देउ एक फेर’, ‘कोहिनूर’, ‘कान्छी’ जस्ता चलचित्रहरुमा अभिनय गरेकी छिन् ।

