‘डढेर खरानी भइसकेको राजसंस्था फर्किन असम्भव’

इलाम : ​डढेर खरानी भइसकेको राजसंस्थाले आर्यघाटबाट फर्केर शासन सम्भव नभएको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो (मौसम) ले बताएका छन्।

कुनै पनि हालतमा राजसंस्था नफकर्ने बताउँदै आङ्बोले गणतन्त्र संस्थागत गर्नु नै उत्तम विकल्प रहेको बताए। माई नगरपालिका–४ स्थित धरमपुर–सिजालीटारबीचको गरुवा खोलामा निर्माण हुने पुलको शिलान्यास गर्दै मन्त्री आङ्वोले विगतमा जनआन्दोलनका क्रममा गणतन्त्रवादीहरुलाई गोली हान्ने राजावादीले आन्दोलन चर्काउँदासमेत अहिलेको सरकारले उल्टै संरक्षण गर्नुले लोकतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्तम भएको धारणा व्यक्त गरे। 

गणतन्त्रवादीप्रति इंगित गर्दै मन्त्री आङ्वोले आफूले ल्याएको शासन व्यवस्था आफैंले संरक्षण गर्न नसक्नु कमजोरी भएको टिप्पणी गरे। कतिपयले सत्तारुढ नेकपा फुट्यो भनेर सडकमा बुर्कुसी मारे पनि पार्टी नफुट्ने उनले दाबी गरे। समाजवादमा जाने मुख्य आधार शिक्षा र स्वास्थ्य भएको बताउने मन्त्री आङ्वाले वर्तमान सरकारले त्यसलाई प्रमुख प्राथमिकतामा राखेको बताए। 

‘संविधान र चुनावी घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई पूरा गरेरै छाड्छौं’, उनले भने, ‘पूर्वाधार विकासका कार्यक्रमअन्तर्गत नागरिकलाई आधारभूत स्वास्थ्य उपचार सेवा दिन ९८ करोड बजेट स्वीकृत गरेका छौं।’

प्रदेश सरकारको २ करोड १८ लाखको बजेटमा पुल निर्माण हुनेछ। २०७७ असार २३ गते ठेक्का पाएको सतासी आरके झापाली जेभीले दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ। सो पुल बनेपछि माई नगरपालिका वडा नं ४,५,१० तथा सूर्योदय नगरपालिकाका वडा नं १३ र १४ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन्।

माई नगरपालिकाका प्रमुख दीपककुमार थेवेको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रदेश सांसद काजीमान कागते, सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार