संसारकै राम्रो र महँगो स्कूलमा पढ्ने रहर कसलाई नहोला र ? धनी परिवारका छोराछोरीले पैसाकै बलमा भएपनि महँगो स्कुल/कलेज ताक्छन् तैपनि सबैले अवसर पाउँदैनन् । त्यसमाथि गरिबका छोराछोरीले त झन् कसरी कल्पना गर्नु ? संसारकै महँगो र उत्कृष्टमध्येको एक अन्तर्राष्ट्रिय कलेजमा नेपालबाट एक विपन्न परिवारकी छोरीले पढ्ने अवसर पाएकी छन् ।
समता स्कुलमा मासिक सय रुपैयाँ शुल्कमा पढेकी अस्मिताले वार्षिक एक करोड शुल्क लाग्ने कलेजसम्मको यात्रा तय गरेकी छन् ।
उनी हुन् चितवनकी १५ वर्षीया अस्मिता अधिकारी । उनले स्विट्जरल्यान्डको आइग्लोन कलेजमा चार वर्षका लागि निःशुल्क छात्रवृत्तिमा पढ्ने अवसर पाएकी हुन् । जोन कर्टेलले १९४९ मा स्थापना गरेको उक्त कलेज संसारकै विशिष्ट कलेजमध्येमा गनिन्छ । भारतीय अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले समेत त्यहीं पढेका थिए । नेपालबाट व्यापारी उपेन्द्र महतोकी छोरीले मात्रै त्यहाँ पढ्ने अवसर पाएकी छन् । अब अस्मिता पनि त्यही कलेजमा जाँदैछिन् जहाँ वार्षिक एक करोडभन्दा बढी शुल्क लाग्छ ।
पढाइ र प्रतिस्पर्धामा अब्बल भएका कारण अस्मिताले उक्त कलेजमा निःशुल्क पढ्ने अवसर पाइन् । समतामा सय रुपैयाँ शुल्कमा पढेकी उनले वार्षिक एक करोड शुल्क लाग्ने कलेजसम्मको यात्रा तय गरेकी छन् । उक्त कलेजमा नेपालबाट पनि विपन्न विद्यार्थीले पढ्न पाउनुपर्छ भनेर पहलकदमी भने गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले गरेका थिए । महतोले धनीका छोराछोरीले पढ्ने ठाउँमा गरिबका विद्यार्थीले पनि पढ्न पाउनुपर्छ भनेर पहल गर्दै आएका थिए ।
पछिल्लो दुई वर्षयता महतोेले समता स्कुलमा आवतजावत बढाएका थिए ।
त्यसपछि उनले आफ्नी छोरीले पढेको कलेजका प्रिन्सिपल रिचर्ड म्याकडोनाल्डलाई नेपाल बोलाए । २०१९ मा स्कुलका प्रिन्सिपल रिचर्ड नेपाल आए । उनले समताको पढाइ र त्यहाँ पढ्ने विद्यार्थीको अवस्थामा चासो दिए । त्यसपछि उनले एकजना विद्यार्थीलाई छात्रवृत्ति दिने भन्दै विद्यार्थीको क्षमता मापन गरे । समतामै पढ्दै गरेका ५ सय विद्यार्थीको विवरण संकलन गरेर स्विट्जरल्यान्ड गएका रिचर्डले अस्मिताको नाम छनोट गरेका हुन् । शिवहरी घिमिरेले नागरिक दैनिकमा यो खबर लेखेका छन् ।