जसले दूतावासभित्र काम गर्ने चिनियाँसँग माया जोडे, चीनमा घरजम गरे

चेतनाथ आचार्य/बेइजिङ। ‘नेपालमा भएको भए माइत जान्छु भनेर दङ्ग्याइन्थ्यो होला। चीनमा घर छोडेर जानका लागि चिने जानेका आफन्त छैनन्। नबोलिकन बसेर पनि के गर्नू, मेरो बुढालाई फकाउनै आउँदैन।’
‘माया मुटुमा हुन्छ। सक्कली माया व्यक्त गर्नका लागि ओठ होइन आँखा चाहिन्छ।’

बनिबनाउन र बिकाउ मायाको जमानामा यस्तो भनाइलाई हाँसोमा उडाइन्छ। यही भनाइ कसैकसैको जीवनमा भने ठ्याक्कै मेल खाएको छ। मनमा भएको मायालाई व्यक्त गर्ने भाषा नबुझे पनि आँखाको भाकालाई आफ्नो मायालुले बुझिदिएपछि विश्वकै सर्वोच्च शिखर सगरमाथाले पनि प्रेमलाई छेक्न नसक्ने रहेछ।

सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीले तिब्बतका सम्राट स्रोङचोङ गम्पोसित विवाह गरेकी थिइन्। त्यतिबेला नेपाली राजकुमारी भृकुटीले तिब्बती सम्राटसँग कसरी कुन भाषामा संवाद गरिन् होला भनेर धेरै निधार खुम्च्याइरहनु पर्दैन, आधुनिक भृकुटीलाई सोधे हुन्छ। हो, आधुनिक भृकुटीका रुपमा एक शब्द पनि चिनियाँ भाषा नजानेका दर्जनौ नेपाली चेलीले चिनियाँसँग बिहे गरेर चीनमै राम्ररी बसोबास गरिरहेका छन्।

सोलुखुम्बुको साबिक कांगेल गाबिसकी सकुन्तला राई र नेचा बतासेकी रबिना राई काठमाडौँ बालुवाटारमा बुटिक टेलरिङ चलाउँदै थिए। सन् २००८ मा बालुवाटारमा चिनियाँ दूताबासभित्र नयाँ भवन निर्माणको काम गरिरहेका स खाइमिन र चियाङ छुसँग नबोलिकनै सकुन्तला र रबिनाको माया बस्यो। सुरुमा उद्रिएको ट्र्याकसुट बनाउनका लागि टेलरिङमा पुगेका स र चियाङको ट्र्याकसुटमात्र होइन राई युवतीहरुले उनीहरुको मन पनि सिलाइदिए। त्यसपछि उनीहरुबीचमा हातको हाउभाउ र सांकेतिक रुपमा कुरा हुन थाल्यो।

चिनियाँ दूताबासको नजिकै राई युवतीको टेलरिङ भएकाले केही चिनियाँ भाषा जानेका नेपालीहरु पनि पुग्थे। कुनै दिन एकजना नेपालीले रबिनालाई सिकाएका थिए चिनियाँलाई भेट्यो भने ‘ओ आई नी’ भन्नुपर्छ। त्यसको अर्थ केहो त्यो चाहिँ भनेका थिएनन्। एकदिन चियाङले कपडा सिलाउँदा लिइने नाप टिप्ने कपीमा आफ्नो मोबाइल नम्बर लेखेछन्।

दिउँसो रबिनाले त्यो मोबाइल नम्बरमा डायल गरिन् र हत्त न पत्त भनिन् ‘ओ आई नी’। उताबाट चियाङले चिनियाँमा केके भने। रबिनाले एउटै पनि बुझिनन्। साँझ चियाङ टेलरिङमा आएर भने ‘ओ ये आई नी’। रबिनाले त्यो पनि बुझिनन्। त्यसपछि रबिना भन्थिन् ‘ओ आई नी’ र चियाङ फर्काउँथे ‘ओ ये आई नी’।

यसो भनेको एक अर्काको नाम बोलाए जस्तै लाग्थ्यो रे त्यतिबेला रबिनालाई।

रबिना र चियाङ जस्तै सकुन्तला र स खाइमिन पनि आपसमा जिस्कन्थे। आपसी भाषा नबुझेर के भयो र उनीहरुको मनले आपसी कुरा बुझिसकेको थियो। केही महिनापछि बुढानिलकण्ठ मन्दिरमा पुगे राई युवतीहरु चिनियाँ युवालाई लिएर। उनीहरु त्यहाँ घुम्न गएका थिएनन् बिहे गर्न पुगेका थिए। नेपाली परम्परागत बिहेको बारेमा चिनियाँलाई केही पनि थाहा थिएन। बेहुली बनेका रबिना र सकुन्तलाले चिनियाँ युवालाई आफ्नो सिउँदोमा सिन्दुर हाल्न सिकाए र पोते लगाइ दिन अर्‍हाए। बस् बिहे सकियो।

बिहे गरेर केही महिनामा चिनियाँ युवाहरुले नेपाली युवतीलाई लिएर चीनको आन्हुई प्रान्तमा फर्किए। चीनमा आएपछि रबिना र सकुन्तला चिनियाँ भाषा सिक्न थाले। परिवेशले नै उनीहरुलाई चिनियाँ भाषा सिकायो। लोग्ने, सासूससुरा, घरका अन्य सदस्य, छिमेकी, पसल, बाटो, देखिने भेटिने मान्छेहरु सबै उनीहरुका लागि चिनियाँ भाषाका शिक्षक। तब रबिनाले थाहा पाइन् ‘ओ आई नी’ भनेको ‘आई लभ यु’ अर्थात् ‘म तिमीलाई माया गर्छु’ र ‘ओ ये आई नी’ भनेको ‘आई लभ यु टू’ अर्थात् ‘म पनि तिमीलाई माया गर्छु’ रहेछ।

भावना र मन मिलेपछि उनीहरुलाई आपसी दिलको भाषा बुझ्नका लागि कुनै दोभाषे चाहिएन। माया चोखो भएपछि जात, धर्म, संस्कृति, भूगोल, राष्ट्र केहीले पनि तगारो हालेन। चीन आएको अर्को वर्ष सन् २००९ मा रबिनाले छोरी जन्माइन्। सकुन्तलाले पनि त्यही वर्ष छोरा जन्माइन्। रबिनाले सन् २०१३ मा छोरा जन्माइन् तर सकुन्तला एक सन्तामै चित्त बुझाएर बसिन्।

सिन्धुपाल्चोकको तातोपानीकी माया मगर काठमाडौँ ढल्कोमा बसेर सीतापाइलामा रहेको सोफा उद्योगमा सिलाइ सिक्न जान्थिन्। यो सन् २००९ को कुरा हो। सोफा कारखानामै काम गर्ने २६ वर्षीय छन हुइचुनको आँखा २१ वर्षकी मायामाथि पर्‍यो। छनले देख्ने बित्तिकै मायालाई मन पराए तर भन्न सकेनन्। उनलाई नेपाली नआउने अनि माया चिनियाँ नबुझ्ने।

त्यही कारखानामा काम गर्ने एकजना नेपालीलाई चिनियाँ भाषा पनि आउँथ्यो। छनको सन्देश ती व्यक्तिले मायालाई सुनाए। मायाले सुरुमा वास्ता गरिनन्। मायाले केही महिना त्यो चिनियाँ युवाको आनीबानी याद गरिन्। मिहिनेती र मिलनसार लागेपछि उनको मन पग्लियो। उनले छन हुइचुनलाई त्यही नेपाली दाइ मार्फत भनिन् ‘नेपाली चलन अनुसार मेरो घरमा माग्न आउनू।’

पाँचजना दाजु र एउटी दिदीकी प्यारी कान्छी बहिनी माया घरकी गुडिया थिइन्। दाइहरुको आदेशलाई उनी सधैँ शिरोपर गर्थिन्। मायाको प्रेममा भने दाइहरु डरलाग्दो तगारो बनेर उभिए। कुनै पनि हालतमा चिनियाँसँग बिहे गर्न नदिने भन्दै मायालाई घरमै थुनेर राखिदिए। एउटै घरमा भए पनि दाइहरुसँग उनको बोलचाल बन्द भयो। पहिलेदेखि चीनबाट सामान लगेर नेपालमा व्यापार गरिरहेका दाइहरुले चिनियाँसँग बिहे गर्ने कुरा सुन्नै मानेनन्।

माया र छनबीचमा गहिरो प्रेम बसिसकेको थियो। दाइले मायालाई घरमै थुने पनि आँखा छलेर उनी चिनियाँ युवा छनलाई भेट्न थालिन्। उनको मनमा अनौठो जुक्ति फुर्‍यो र प्रेमीबाट गर्भवती भएपछि दाइ मान्नुहुन्छ होला भनेर उनले छनको गर्भ बोकिन्। तै पनि दाइको मन पग्लिएन। उनले मायालाई गर्भपतन गराउन जबरजस्ती गर्न थाले। त्यसपछि मायाले आफ्नो प्रेमलाई साकार बनाउका लागि देशनै छोड्ने निधो गरिन्।

चीनको भिसा लगाएर उनी तीन दिनसम्म स्वयंभूको एउटा होटलमा लुकेर बसिन् र चिनियाँ प्रेमीसँग सुटुक्कै चीन उडिन्। उनलाई आमाले चाहिँ साथ दिएकी थिइन्। चीनको चच्याङ प्रान्तको निङ्पोमा आएपछि उनका दाइहरुले उनलाई चटक्कै बिर्सिदिए। छोरी जन्मिएपछि उनले छोरीको फोटो दाइलाई पठाइ दिइन्। हँसिलो भान्जी देखेपछि बल्ल दाइहरुको मन पग्लियो। अहिले मायाका दाइहरु निङ्पोमा रहेको मायाको घरमा नियमित आउजाउ गरिरहन्छन्।

बिहे गरेर नेपालबाट भाग्दासम्म मायालाई चिनियाँ भाषा आउँदैन थियो। उनका श्रीमान् छनलाई न नेपाली आउँथ्यो न अंग्रेजी।

मायाले भनिन् ‘हामी त सांकेतिक रुपमा कुरा गर्थ्यौँ। इसाराबाटै कुरा बुझाबुझ हुन्थ्यो।’

चीनमा आएपछि बल्ल उनले चिनियाँ भाषा सिकिन्। टेलिभिजन चिनियाँ चलचित्र हेरेर भाषा सिक्न उनलाई सजिलो भयो। उनलाई सबै चिनियाँले ‘आई’ अथवा माया भन्छन्। चिनियाँ भाषामा ‘आई’ को अर्थ माया हुन्छ। चिनियाँलाई माया उच्चारण गर्न पनि सजिलो छ। सन् २०१४ मा मायाले छोरा जन्माइन्। छोरालाई लिएर नेपाल गइन् र ६ महिना बसेर फर्किइन्। माया र उनकी छोरीसँगसँगै हिँड्दा चिनियाँले दिदी बहिनी भन्छन्।

छोरी आफ्नो कुमभन्दा अग्ली भइसकेकी बताउँदै मायाले भनिन् ुचिनियाँले दिदीबहिनी हो भनेर बारम्बार सोध्ने गरेपछि छोरीले झर्को मान्दै भन्छिन्, ‘ह्या ममी हिल जुत्ता लगाएर हिँड्नू।’

लोग्ने स्वास्नीको झगडा परालको आगो भन्ने नेपाली उखानै छ। चिनियाँसँग बिहे गरेका नेपाली चेलीहरुको पनि सामान्य ठाकठुक भइरहन्छ। सामान्यतः नेपालीहरु बढी रिसाउने र कराउने गर्छन्। रबिना, सकुन्तला र माया तीनै जनाको दम्पतिमा चिनियाँभन्दा बढी नेपाली नै रिसाउने गरेको उनीहरुको भनाइबाट प्रष्ट हुन्छ।

एकैछिनमा झगडा हुने र एकैछिनमा सेलाउने भनेजस्तै लोग्नेसँगको झगडा लामो समय रनहने सकुन्तला बताउँछिन्। घरमा धेरै बाझ्ने र झगडा गर्ने सकुन्तलाकै बानी हो। लोग्नेले कहिल्यै पनि मुख फर्काउँदैनन्। सोझो भएर पनि दैनिक माच्यङ खेल्ने र चुरोट खाने बानी सकुन्तलालाई पटक्कै मन पर्दैन। सकुन्तला एक दिन कामबाट फर्कदा बिहानका जुठाभाँडाहरु त्यतिकै थिए। खाना पनि बनाएको थिएन।

उनले रीस थाम्नै सकिनन् र फोन गरेर थर्काइन्, ‘बिहानको भाँडा किन नमाजेको अनि खाना बनाउनु पर्दैन?’

सकुन्तलाको फोनले सातो गएपछि माच्याङ खेल्दै गरेका उनका श्रीमान् दौडेर आएर भाँडा माजेर खाना पकाए, सकुन्तलाले हेरिरहिन्। उनलाई हाँस पनि उठ्यो रे। भनिन्, ‘स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै भाँडा माजेको देखेर हाँस पनि उठ्यो। हाँसो रोकेर हेर्दै थिएँ पल्याकपुलुक मतिर पछाडि हेर्दै हुनुहुन्थ्यो। पछाडिबाट पिट्छ कि भन्ने शंका लागेछ।’

बेलुका माच्याङ खेलेर राति १०–११ बजे फर्कने उनका श्रीमान् एकपटक त बिहान मात्र आए। त्यतिबेला सकुन्तलालाई सबैभन्दा बढी रिस उठेको थियो रे। उनी ढोका नखोलिकन चुप लागेर बसिछन्। छिमेकी काकीलाई समेत बोलाएर ढोका खोल्न कर गरेको उनले सुनाइन्।

‘नेपालमा भएको भए माइत जान्छु भनेर दङ्ग्याइन्थ्यो होला’, सकुन्तलाले भनिन्, ‘यहाँ त त्यो भन्ने मौका पनि छैन। घर छोडेर जानका लागि चिने जानेको आफन्त पनि छैनन्। त्यही भएर नबोलिकन बस्ने हो। नबोलिकन बसेर पनि के गर्नू र मेरो बुढालाई फकाउनै आउँदैन।’

सकुन्तलाको जस्तै रबिनाको जोडीमा पनि रबिनालाई नै धेरै रिस उठ्छ। रिस उठेपछि उनी रुन थाल्छिन्। उनका श्रीमान् घरमा आएपछि सधैँ मोबाइलमा गेम खेलेर बस्छन्। छोराछोरीलाई गृहकार्य सिकाउनेतिर ध्यान दिँदैनन्। छोराछोरीसँग खेल्दैनन् पनि। रबिनाले जतिसुकै कराए पनि चुप लागेर मोबाइल खेलाइरहन्छन्। सानो कुरामा चित्त दुख्यो भने रबिना रोइहाल्छिन्।

उनले भनिन्, ‘म त रिस उठेपछि घर नै जुरुक्कै उचाल्ने गरी कराउँछु। रुँदै म त नेपाल जान्छु फर्कंदा पनि फर्कन्न भनेर थर्काउँछु।’

रबिनाले जतिसुकै दङ्ग्याए पनि उनका श्रीमान्‌लाई के वास्ता। अझ बेलुका रबिनाको रिस अलिक शान्त भएपछि जिस्यकाउन थाल्दा रहेछन्। आफ्नो श्रीमान्‌ले कसरी जिस्क्याउँछन् भन्ने बारेमा रबिना हाँस्दै भन्छिन्, ‘दिउँसो म नेपाल जान्छु भनेर रोएको छु भने बेलुका उहाँ भन्नुहुन्छ– कतिखेर जाने हो? रात परिसक्यो त। बरु म पनि लुगाकपडा पट्याउन सघाउँछु। कुन सुट्केश लाने हो– ठूलो कि सानो?’

यसो भनेपछि रबिना आफैँ हाँस्न थाल्छिन् रे।

रबिनाले ठूलो स्वर गरेर कराउँदा उनका श्रीमान्‌ले दिने प्रतिक्रिया पनि रमाइलो हुने रहेछ। रबिनाले भनिन्, ‘म कराएपछि उहाँ भन्नुहुन्छ– हैट यस्तो चर्को बाझ्ने तिमीलाई कुनै नेपालीले बिहे गरेको भए के हुन्थ्यो होला है।’

बाहिर रिसाएजस्तो गरेपनि भित्री मनमा प्रगाढ माया बसेको सुनाउँदै रबिनाले भनिन्, ‘पहिलोपटक बालुवाटारमा मेरो श्रीमान्‌ले सिलाउन लगेको उध्रिएको ट्र्याकसुट अझै समालेर राखेकी छु।’

रबिना र सकुन्तलाका श्रीमान्‌को मुख्य गुनासो छोराछोरीलाई ख्याल नगरेको भन्ने रहेको छ। तर मायाको श्रीमान्‌ले आफ्ना छोराछोरीलाई गृहकार्य गर्न सिकाउने सँगै खेल्ने गर्छन्। मायाको रिस चाहिँ नाकको टुप्पोमा छ। उनी तुरुन्तै रिसाउँछिन्।

माया रिसाएको थाहा पाएपछि उनका श्रीमान् छन भन्छन् रे, ‘भूकम्प आएको छ एकछिन चुप लागेर बस्नुपर्छ। एकछिनमा आफैँ शान्त हुन्छ।’

कहिलेकाहीँ अनलाइनबाट केके खानेकुरा मगाएर फकाउने पनि गर्छन्। मायाकी आमाले पनि छोरी धेरै रिसाउने र ज्वाइँ नरिसाउने भएकाले ज्वाइँकै पक्ष लिने गरेको मायाले बताइन्। मायाकी आमा गत वर्ष चीनमा आएर बसेकी थिइन्। मायाकी आमालाई मायाका चिनियाँ परिवारले खुब मन पराउँछन्। मायाकी आमाले खैनी खान्छिन्। खैनी खाएको हातले रोटी पकाएर दिँदा मायालाई घिन लाग्ने तर श्रीमान्‌ले खुब मिठो माने गरेको सुनाइन्। सम्धिनीसँग इसारामै मायाकी आमाले कुरा गर्छिन्।

भृकुटीलाई पछ्याउने नेपाली चेलीहरु रबिना, सकुन्तला र मायाले चिनियाँ बोल्न नजान्दै चिनियाँसँग प्रेम गरे। अहिले उनीहरु फरर चिनियाँ बोल्छन्। सामान्य झगडा हुँदा पनि उनीहरु चिनियाँ भाषामा मज्जाले रिस पोख्छन् र थर्काउँछन् आफ्ना श्रीमान्‌हरुलाई। नेपाली श्रीमतीको गालीलाई पनि रमाइलो मानेर पचाइदिन्छन् चिनियाँ स्रोङचोङहरु गम्पोहरु। नेपालखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार