काठमाडौं । नेपालको पुरानो पाँच तारे होटल अन्नपूर्ण सदाका लागि बन्द हुने भएको छ । लामो समयदेखि आर्थिक संकट झेल्दै आएको होटल डेला अन्नपूर्ण कोरोना पछि सदाका लागि बन्द हुने भएको हो ।
काठमाडौंको दरबारमार्गमा करिव ४० रोपानी जग्गामा फैलिएको सो होटल व्यवस्थापनले सदाका लागि बन्द गर्ने निर्णय गरिसकेको उच्च स्रोतले जानकारी दिएको छ । होटलका मुख्य लगानी कर्ता तथा नेपाल होटल एशोसिएशनका अध्यक्ष सिर्जना राणालगायतका साझेदारले आर्थिक संकट गहिरिँदै गएपछि उक्त होटल सदाका लागि बन्द गर्न लागेका हुन् ।
“दरबारमार्गको प्राइम लोकेसनमा ४० रोपनी क्षेत्रफलमा फैलिएको ५५ वर्ष पुरानो हो,” होटल संघ नेपालकी अध्यक्ष समेत रहेकी होटल सञ्चालक सिर्जना राणाले भनिन्, “हालको अवस्थामा आम्दानीभन्दा खर्च बढेर गएको छ, त्यसैले सामान्य समय हुने अवस्था पनि अनिश्चित देखकाले होटल बन्द गर्ने निर्णयमा पुगेका हौं ।”
५५ वर्ष पुरानो होटलमा ३६० कर्मचारी छन् । होटेलमा ४० वर्षदेखिका पुराना कर्मचारी छन् । “होटल पनि पुरानो भयो यसलाई नयाँ स्वरुपमा आउनु पनि जरुरी रहेको देखेको छु,” राणाले भनिन्, “नयाँ बिजनेस प्लानका साथ आउनुपर्ने देखेको छु । अहिले नै यो गर्ने भन्ने निर्णय भएको छैन् । होटल पुरानो भएकोले गर्दा समय सापेक्ष होटललाई व्यवस्थापन गर्नु पर्ने सोच हामीले महशुस गरेका छौं ।”
होटल क्षेत्रमा पर्यटक आगमन कम भएपछि र कोभिड–१९ को प्रभाव अनिश्चित बनेपछि संघको पहलमा नै कर्मचारीलाई न्यूनतम तलबमात्र दिँदै आएको थियो । “होटलको आम्दानीको धेरै हिस्सा कर्मचारीको तलब व्यवस्थापनमा नै खर्च हुने गरेको छ । यही अवस्था लामो समय रहने देखिएको छ । विश्वमा पर्यटन गतिविधि ठप्प रहेकाले गर्दा होटल सञ्चालन गर्नु भन्दा बन्द गर्ने निर्णयमा पुगेका हौं,” राणाले भनिन् । उनका अनुसार कानुनअनुसार कर्मचारीले पाउनुपर्ने सेवा सुविधासहित बिदाइ गरिने छ ।
आर्थिक संकटका कारण कर्मचारीलाई तलब तथा उपदान दिएर विदाई गर्नका लागि ५ रोपनी ८ आना जग्गा बिक्री गरिने भएको छ । कम्पनीका अध्यक्ष सिर्जना राणाले उक्त होटलको भाटभटेनी मनी ट्रान्सफरसँगै जोडिएको साढे ५ रोपनी जग्गा बिक्री गर्न लागेकी हुन् । ‘यसअघि अध्यक्ष राणालो भाटभटेनीसँगै जोडिएको साढे ५ रोपानी जग्गा सोही भवनका मालिकलाई बिक्री गर्न लागेका थिए,’ उक्त स्रोतले भन्यो, ‘तर उनीहरुले एकदमै सस्तो मूल्यमा जग्गा उठाउन खोजेपछि अहिले अध्यक्ष राणा नयाँ ग्राहकको खोजीमा छन् ।’
तत्कालिन राजा स्वर्गीय विरेन्द्र शाहको समेत लगानी रहेको सो होटल उनको निधन पछि शाहको स्वामित्वमा रहेको सम्पती नेपाल सरकारको नाममा आएको थियो । सोही अनुरुप नेपाल ट्रस्टको समेत लगानी रहेको सो होटलमा गोरख राणा, कुमार गोरख, राजेन्द्र खेतान लगायतको लगानी गरहेको छ ।