बाल्यकाल अभाव र कठिनाइमै बित्यो,यस्तो छ गायक प्रकाश सपुतको दु:खको कथा

पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका छन् केही कलाकार । नेपाली साङ्गीतिक क्षेत्रमा अमूल्य र कर्णप्रिय गीतहरू एकपछि अर्को दिँदै आएका छन् यिनीहरूले ।

यस्तै गीतमा पर्छन्, ‘गलबन्दी च्यातियो तिम्ले तानेर’, ‘बोल माया’ र ‘बदला बरी लै !’

लोकभाका मिश्रित यी गीतहरूका गायक हुन्, प्रकाश सपुत । सपुतका यी गीतले पछिल्लो समय नेपाली श्रोताको मन र मस्तिष्क दुवै हल्लाइरहेका छन् । हरेकजसो नेपालीका ओठमा यी गीत झन्डिएका छन् ।

शिलापत्रडटकमको नियमित स्तम्भ ‘मेरो सङ्घर्ष’का लागि यस पटक उनै प्रिय गायक सपुतको सङ्घर्षलाई समेटिएको छ ।

धेरै मानिस आफ्ना सपनालाई मूर्त रूप दिन सारा जीवन समर्पित गर्छन् । जीवन बितेर जान्छ तर पनि कतिपय अवस्थामा सपना अधुरै रहन्छ ।

सपुत भने यस मामलामा अपवाद सिद्ध भएका छन् । उनले छोटो अवधिमै आफ्नो सपनाको दुनियाँ अर्थात् साङ्गीतिक क्षेत्रमा हस्तक्षेपकारी उपस्थिति जनाए । उनले यसबाट नाम मात्र कमाएनन्, आर्थिक र सिर्जनात्मक रूपमा पनि उनी अहिले राम्रो अवस्थामा छन् । 

सङ्गीतको क्षेत्रमा उनी अहिले लोकप्रियताको शिखरमा छन् । कुनै बेला खान-लगाउनकै समस्या भएका र अभाव नै अभावमा जीवन विताएका सपुत अहिले काठमाडौंमा आफ्नै घरमा बस्छन् । यसको आसय उनको आर्थिक हैसियत पनि विचित्र ढंगले उठेको छ अहिले । तर, उनलाई यो सफलता सहज र स्वाभाविक ढंगले प्राप्त भएको भने होइन । यसका लागि उनले धेरै मिहिनेत गरेका छन् । धेरै सङ्घर्ष गरेका छन् । उनी जातीय विभेद, आर्थिक अभाव र सङ्गीतका क्षेत्रमा समानान्तर ढंगल सङ्घर्ष गर्दै अगाडि बढे ।  

प्रकाश सपुतको जन्म बाग्लुङ जिल्लाको धम्जामा २०४७ सालमा भएको हो । कामको सिलसिलामा बुबाआमा भारतमा भएकाले उनको बाल्यकालको केही समय भारतमै बित्यो । त्यसपछि उनी बुटवलस्थित मामाघरमा बसे । उनले कक्षा २ सम्म मामाघरमै बसेर पढे । 

उनको बाल्यकाल सामान्य तवरले बित्यो । बुबाको जागिर थिएन । पुख्र्यौली सम्पत्ति पनि थिएन । त्यसैले कमाउनका लागि बुबा भारत गइरहन्थे । 

उनको बाल्यकाल अभाव र कठिनाइमै बित्यो । कमजोर आर्थिक अवस्था थियो परिवारको । सीमान्त गरिबीको रेखामुनि रहेर निम्नमध्यम वर्गीय परिवारको जीवन बाँचे उनले बाल्यकालमा । भारतमा गएर बुबाले कमाउने भएकाले खान-लगाउनको उतिसारो समस्या नभए पनि बाल्यकालका रहरहरू पूरा गर्न सकिने अवस्था भने थिएन । 

सद्भाव र विभेद एकसाथ

उनी बसेको समाज दलित र गैरदलित समुदायको मिश्रित समाज थियो । समाजमा सहयोग र सद्भावको अवस्था राम्रै थियो तर जातीय विभेद भने सधैँ खड्किइरहन्थ्यो । 

सपुत भन्छन्, ‘गैरदलितहरूले सहानूभूति राख्थे । परेका बेला सहयोग पनि गर्थे तर खाना दिँदा बाहिर राख्ने चलन थियो । सँगै खेलेर आएका साथीहरू भित्र बसेर खाना खान्थे भने आफूले बाहिर बसेर खानुपथ्र्यो’, उनी थप्छन्, ‘माया पनि गर्थे र विभेद पनि ।’

उमेर बढ्दै गएपछि र अलिक जान्नेबुझ्ने भएपछि भने नगई नहुने अवस्थामा बाहेक उनले गैरदलितहरूको घरमा जान छाडे । कुनै समय बालीप्रथाबाट खाद्यान्न जुटाउने उनको परिवार विस्तारै आत्मनिर्भर बन्दै गएपछि उनलाई गैरदलितहरूबाट टाढै रहन सजिलो पनि भयो । 

शहरीकरणको विकास र विस्तारले पनि जातीय विभेद कम गर्नमा र दलितहरूलाई आत्मनिर्भर बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सपुतको बुझाइ छ । भन्छन्, ‘विनिमयको माध्यमका रूपमा पैसा आएपछि र आफ्ना आवश्यकताहरू बजारबाट पूरा हुन थालेपछि अवस्था सहज हुँदै गयो ।’

प्रविधिको विकासले पनि परिवर्तनमा त्यतिकै सघाउ पुगेको उनको ठम्याइ छ । 

सबैभन्दा अनौठो त के रह्यो भने गाउँमा सँगै नबस्ने र सँगै नखानेहरू पनि शहरमा आएपछि एउटै कोठामा बस्न थाले । एउटै ओछ्यानमा सुत्न थाले । यसरी पनि विभेदको रेखा मेटिँदै गएको उनको भनाइ छ । ‘तर पनि अझै विभेद कायमै छ’, सपुत भन्छन्, ‘यद्यपि, अहिले पहिलेको भन्दा निकै सुधार भइसकेको छ ।’

गायन यात्रा

सङ्गीतकै माध्यमबाट अहिले चर्चाको शिखरमा रहे पनि सपुतले सङ्गीतको औपचारिक ज्ञान भने कतैबाट लिएनन् । सायद उनलाई उनी हुर्केको माटोले सङ्गीत सिकायो । उनी हिँडेको बाटोले सङ्गीत सिकायो । 

उनका हजुरबुबा भजन गाउँथे । बुबा मारुनीमा नाच्ने र गाउने गर्थे । उनमा सङ्गीतको नशा त्यहीँबाट जाग्यो सायद । भन्छन्, ‘घरपरिवारबाटै सङ्गीतको प्रभाव ग्रहण गरेँ र त्यहीबेलादेखि नै नजानिँदो किसिमले यसको सङ्गत भयो ।’ 

कक्षा ८ मा पढ्दा उनले ठूलो कार्यक्रममा आमासम्बन्धी गीत गाए । त्यसमा विजेता पनि बने । त्यसपछि उनमा हौसला र आत्मविश्वास थप प्रगाढ भएर गयो । (शिलापत्र डट कम बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार