विश्वमा मनकारी मान्छेको कमी छैन । मेहनत गर्ने मानिसलाई सहयोग गर्ने मानिस पनि छन् । यस्तै दानवीर मानिस टेक्सासमा फेला परेका छन् । टेक्सासमा एक ग्राहकले रेस्टुराँको वेटरलाई कार नै उपाहरमा दिएका छन् ।
जानकारीअनुसार एक वेटर टेक्सासको गेल्भेस्टनको रेस्टुरामा काम गर्छिन्, जसलाई यहाँ खाना खान आएका ग्राहकले नै उपहारमा कार दिएका छन् । वेटरको नाम एड्रियाना एडवर्ड हो । उनी एक अमेरिकी रेस्टुराँमा काम गर्छिन् । उनी रेस्टुराँमा काममा जानका लागि प्रत्येक दिन १४ माइल अर्थात् २२.५ किमि पैदल हिँड्ने गर्छिन् ।
तर गत मंगलबार एक जोडी यहाँ खाना खान आएका थिए । उनीहरूलाई एड्रियानाका बारेमा थाहा भयो । उनीहरूलाई एड्रियानाले कार किन्नका लागि पैसा जम्मा गरिरहेको पनि थाहा भयो । उनीहरूले आफ्नो परिचय नखुलाउने सर्तमा वेटरलाई नयाँ कार खरिद गरिदिए । कार २०११ को निसान सेन्ट्र थियो ।
यो कार पाएपछि उनको आँखाको आँसु थामिएन । तर, कार उपहार दिने महिला पनि उनलाई देखेर अत्यन्त खुसी भइन् ।यो आकस्मिक उपहार पाएपछि एड्रियानाले भनिन्, “मलाई सपना देखेजस्तो भइरहेको छ ।” कार उपहार दिने महिलाले पनि आफुले जो–कसैलाई समस्यामा देखे पनि सहयाग गर्ने प्रयास गर्ने गरेको बताइन् ।