सल्यानको कपुरकोट गाउँपालिकाकाे वडा कार्यालयमा आगजानी…

सल्यान, १६ माघ । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ५ को वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । रिमको सितलबजार नजिकै रहेको सो वडा कार्यालय तोडफोड गर्नुको साथै आगजनी गरी वडाका सम्पूर्ण कागजात पुर्णरुपमा नष्ट पारेको छ ।

बिहीबार वडा कार्यालय खोल्न जाँदा कार्यालय सहयोगीले कार्यालय फोरिएको सूचना दिएपछि मात्र आगजनी र चोरी भएकोबारे थाहा पाएको वडा अध्यक्ष यम कुमार बस्नेतले बताए ।

अज्ञात समूहले कार्यालयको मुख्य ढोका फोरेर पन्जिकरणका महत्वपूर्ण जागजातहरु, डेक्स्टप कम्प्युटर एक थान, प्रिन्टर एक थान, सोफा सेट २ थान, घुम्ने कुर्सी ५ वटा, टेबुल ६ वटा, कार्पेट, पर्दा, इन्टरनेट सम्बन्धी सामग्री, २ वटा दराज लगाएतका सामग्री पूर्णरुपमा जलेको वडा अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

वडा कार्यालयमा पेट्रोल राखेको बोतल पनि भेटिएको हुनाले अज्ञात समूहले पेट्रोल छर्कर कार्यालय आगजनी गरेको हुन सक्ने वडा अध्यक्ष बस्नेतले बताएका छन् । घटनाको प्रारम्भिक अनुसन्धानलाई तिब्र गतिमा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार