सामान्यतया बजारमा दुई हजारदेखि दस-बाह्र हजार रूपैयाँका ‘लेदर’ ज्याकेट पाइन्छ। हामी वा व्यापारीले लेदर भने पनि ती ज्याकेट साँच्चै लेदर हो कि होइन, हामी भेउ पाउँदैनौं।
हामी अनजान भएकै कारण कति व्यापारीले लेदर नै हो भनेर धेरै मूल्य समेत लिन्छन्।
उसो भए खास लेदर कसरी चिन्ने? ओरिजिनल वा मिसावट लेदर ज्याकेट कसरी थाहा पाउन सकिन्छ? यो बुझ्न हामी मैतीदेवीस्थित ‘राइनो लेदर्स’ कारखाना पुग्यौं।
लेदर ज्याकेट चिन्ने तरिका बुझ्नुअघि राइनो लेदर्सकै बारेमा जानौं।
राइनो लेदर्सले विशेषगरी छाला (लेदर) ज्याकेट बनाउँछ। प्यान्ट, स्कर्ट, सर्ट, झोला, ब्रिफकेस, किरिङ, पर्स, क्याप, पेटी, पन्जादेखि ल्यापटप, मोबाइल, डायरीका खोल पनि। यसको कारखाना र एउटा शोरूम मैतीदेवीमा छ। अर्को शोरूम दरबारमार्गमा।
यो कम्पनी बारा, कलैया मूलघर भएका उनका बुवा अमित साहले खोलेका हुन्। अमितले यो कामअघि थुप्रै क्षेत्रमा हात हालेका थिए। कहिले विद्युतीय सामान ल्याएर कारोबार गरे। कहिले नेपाली कपडा विदेश पठाए। कपडाको काममा निकै घाटा बेहोरे र केही समयपछि उनको गार्मेन्ट बन्द भयो।
यसपछि उनले ‘राइनो लेदर्स’ खोलेका हुन्। यो करिब एक दशकअघिको कुरा हो।
अहिले राइनो लेदर्स ब्रान्डका सामान अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, बेलायत र केही युरोपेली देश निर्यात हुन्छ। अमितका तीन छोरीमध्ये एलिसा साह यहाँकी सहसञ्चालक हुन्।