काठमाडौ । स्रोत नखुलेको ठूलो परिमाणको रुपैयाँ सहित प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ३० वर्षीय अमितकुमार थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंको नागढुंगाबाट भारतीय नागरिक १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित पक्राउ परेका हुन् । कपिलवस्तुको बाँडगंगा नगरपालिका ४ का २२ वर्षीय कार चालक संगम थारु पनि उनीसँगै पक्राउ परेका छन्।
सोमबार बिहान साढे ४ बजे नागढुंगा चेक प्वाइन्टबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले कारमा विभिन्न स्थानमा राखिएको अवस्थामा उक्त रकमसहित फेला पारेको जनाएको छ ।
रकमको स्रोत नखुलेकाले उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी प्रमेश विष्टले बताए। कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कार चेक जाँचका क्रममा उनी पक्राउ परेका हुन्।
बरामद रकम कारको डिक्किमा, स्पेयर टायरमुनि तथा कारको विभिन्न भागमा लुकाइएका ३ वटा झोलामा फेला परेको प्रहरीले जनाएको छ। गुप्ताको साथबाट ८६ हजार रूपैयाँ बरामद भएको हो।
उक्त रकम भारतबाट भारतीय रूपैयाँ ल्याई नेपालको सीमा क्षेत्रमा पटक पटक गरी नेपाली रुपैयाँ सटही गरेको उनले बताएका छन्। उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग पठाउने तयारी भएको छ।