हिजो सोमबारदेखि काठमाडौंवासीले एक किसिमको अप्ठयारो महशुस गरिरहेका छन्।
केहीदिन अघि नेपालको पश्चिमी भू-भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहान यसपालिको पहिलो हिउँदे वर्षा त भयो तर त्यसले आकाश खुलाउन सकेन।
मंगलबार पनि बिहानैदेखि घाम देखिएको छैन। हुस्सु लागेजस्तो काठमाडौं धुम्म भएको छ। भिजिबिलिटी घटेको छ। दुई दिनसम्म घाम नलागे पनि काठमाडौं न्यूनतम तापक्रम भने घटेको छैन।
बरू पहिलाभन्दा बढेको छ। पुस १६ गते काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको थियो भने आज ९ डिग्री सेल्सियस छ।
तापक्रम बढेसँगै काठमाडौंको वायुको प्रदूषण पनि ह्वात्तै बढेको छ। सोमबार त काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गर्यो। वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ।