जाजरकोट, पुस २४ गते । जाजरकोटको बारेकोटमा अज्ञात रोगले बारेकोट गाउँपालिकामा धमाधम कुखुरा मर्न थालेका छन् । कुखुरा व्यवसायी दीर्घराज गिरीले बारेकोटका अधिकांश ठाउँमा कुखुरा मरिरहेको बताउनुभयो । उहाँका अनुसार कुखुराहरू झोक्राउने र केही समयपछि मर्ने गरेका छन् ।
गाउँपालिका भित्रका प्रत्येक वडामा यस्तो समस्या देखिएको उहाँको भनाइ छ ।
बारेकोट गाउँपालिका–२, रोकाय गाउँका चन्द्रबहादुर नेपालीको कुखुरा फर्ममा रहेका दुई सयवटा लोकल कुखुरा मरेको जानकारी दिनुभयो । बारेकोट गाउँपालिका–२ का वडाध्यक्ष टीकाराम नेपाली व्यावसायिक रूपमा पालेका कुखुरा धमाधम मर्न थालेपछि किसान चिन्तामा परेको बताउनुभयो ।
कृषक लालबहादुर बोहोराले आफूले पालेका पाँच सय लेयर्स कुखुरामा आधा जति मरिसक्दा पनि स्थानीय सरकारले त्यसको उपचारका लागि चासो नदेखाएको गुनासो गर्नुभयो । यता गाउँपालिका पशुसेवा शाखाका प्रमुख भीमबहादुर सिंहले किसानले पालेका कुखुरा धमाधम मर्न थालेपछि तत्काल औषधि खरिद गरी रोग फैलन नदिन पहल भइरहेको बताउनुभयो । कुखुरा के कारणले मरिरहेका छन्, त्यसको स्थलगत अवलोकन गर्ने तयारी भइरहेको बताउनुभयो ।
कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जाजरकोटमा मरेका कुखुराको ल्याब परीक्षण गराउने तयारी भइरहेको र परीक्षण भएपछि मात्र के कारणले मरेको भनि पुष्टि हुने बताउनुभयो । पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जाजरकोटमा के कारणले कसरी कुखुरा मरे भन्ने जानकारी नआएको प्रतिक्रिया दिनुभयो ।(आजको गोरखापत्र दैनिकमा खबर छ)