युरोपीयन देशहरूले भारतले भन्दा ५ गुणा बढी मूल्यमा अदुवा लगे, कर्णालीका कृषक मख्ख

कर्णाली, २७ पुष । विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा बिक्री गर्दै आएका उनीहरुले हाल रु ३० देखि ७५ सम्ममा घरकै मझेरीबाटै अदुवा बिक्रीवितरण गर्न पाएका छन् ।
यतिबेला अदुवा उत्पादक किसानलाई अदुवा बिक्रीवितरण गर्न भ्याइनभ्याइ छ । यसको सङ्कलन र बिक्रीवितरण गर्ने यो उचित समय पनि हो । अदुवा कृषकले आफ्नो उत्पादनका लागि भारतीय बजार मूल्य कुर्नु परेको छैन । अहिले आफ्नै प्रदेशमा सहज तरिकाले बिक्रीवितरण गरिरहेका छन् ।

आफ्नो उत्पादनले बजार र मूल्य पाउन थालेपछि किसानको आकर्षण अदुवाखेतीमा बढ्दै गएको छ । यसअघि परम्परागतरुपमा गरिँदै आएको अदुवाखेती अहिले आधुनिक एवं व्यावसायिकरुपमा गर्दै जाँदा कर्णालीका अदुवा कृषकले यसलाई नगदे खेतीका रुपमा हेर्न थालेका छन् ।

चौरजहारी नगरपालिका– ९ रुकुमपश्चिम खोलागाउँका ७० वर्षीय किसान टेकबहादुर बुढाथोकी भन्छन्, “उतिबेला बजार पहुँच नहुँदा उत्पादित अदुवा सामान्यतः बेच्ने र नासोका रुपमा आफ्ना इष्टमित्रलाई दिइन्थ्यो । धेरैले यसको महत्व बुझिसकेका थिएनन् । कति अदुवा त बारीमा नै सडेर जाने गथ्र्यो । अहिले त बारीमै खन्दै गरेको अदुवा किन्न व्यापारी त्यही पुग्छन् ।”
बुढाथोकीले थपे, “समय धेरै बदलिसकेछ । पहिले अदुवाखेती गर्ने गाउँले हुन्थे । अहिले त यही खेती गर्ने नै शहरिया भएको देख्न पाइएको छ, यही खेतीबाट पक्की घर पनि बनाएका छन् ।” यो पुस्ताले अलि मेहनत गरेर कृषि पेशालाई माया गर्न सके परदेशी भूमिमा जान नपर्ने उनको भनाइ छ ।

मुलुक सङ्घीयतामा गएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग सडक पूर्वाधार जोड्ने कामलाई प्रदेश सरकारले जोड दिएको छ । अदुवाको बढी उत्पादन हुने सल्यान, रुकुम, जाजरकोट राजधानी सुर्खेतसँग जोडिइसकेका छन् । दुईरतीन वर्षदेखि सुर्खेतमा अदुवा प्रशोधन उद्योग सञ्चालनमा आउँदा अदुवा उत्पादक किसानलाई बजारीकरणका लागि सजिलो हुँदै गएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरसँग जोडिएको भेरीगङ्गा नगरपालिका– ५ सुर्खेतस्थित छिन्चुको दक्षिणपूर्वी भागमा रहेको कालीदमारमा विसं २०७० मा स्थापित अदुवा प्रशोधन उद्योग ‘द अर्गानिक भ्याली प्रालि’ ले आव २०७१\०७२ यता अदुवा, टिमुर, बेसार, अलैँची, मेथी, निबुवा, कफी र लेमन ग्रास जुसका क्षेत्रमा काम गर्दै आइरहेको छ । प्रालिले किसानको अदुवालगायतका उत्पादन लिन थालेपछि उनीहरुलाई सहज भएको हो ।

अर्गानिक माउण्टेन फ्ल्याभर, इन्भेष्टर होम र ओएमएक्स विभी मर्ज भएर निर्माण भएको ‘द अर्गानिक भ्याली प्राली’ रु एक करोड तीन लाख शेयर लगानीमा सञ्चालनमा आएको प्रालीका प्रबन्ध निर्देशक समीर नेवाले जानकारी दिए । “शुरुमा प्रालीलाई नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत उच्च मूल्य कृषि वस्तु विकास आयोजना ९एचभिएपी० ले रु ६२ लाख ८७ हजार लगानी गरेको थियो”, निर्देशक नेवाले भने, “त्यसपश्चात् हामी आफ्नै लगानीमा प्रालीअघि बढाएका छौँ ।”

उनका अनुसार प्रालीले आफ्ना उत्पादनलाई नेपाली बजारभन्दा युरोपियन बजारमा निर्यात गर्दै आएको छ । हामीले सुकेको चाना पठाउने काम गर्दै आएका छौँ । खासगरी उद्योग सञ्चालनपश्चात् पहिलो पटक आर्थिक वर्ष ०७५र०७६ मा २६ टन अदुवाको चाना पठाउँदा प्रतिकिलो अमेरिकन डलर रु ४।८५ बिक्री गर्दा रु एक लाख चार हजार आम्दानी गरेको थियो ।

उनले अगाडि भने, “०७६\०७७ मा ६८ मेट्रिकटन पठाउँदा रु तीन लाख ८५ हजार अमेरिकी डलर आम्दानी गरेका छौँ । प्रालीले आफ्नो उत्पादन युरोपको विशेषगरी जर्मनीमा पठाउने गर्दछ । युरोपियन देशले चिया, तेल, क्याण्डी फ्ल्याभर्ड, मसलाजन्य वस्तुका रुपमा अदुवा प्रयोग गर्ने गर्दछन् । त्यहाँ यसको माग बढी छ ।”

प्रालिले युरोपियन मुलुक जर्मन, नेदरल्याण्ड, युक्रेन, स्वीडेनलगायतका देशमा निर्यात गर्दै आएको छ । चालू आर्थिक वर्षमा १०० टन माथि अदुवा निर्यात गरेर रु पाँच लाख ८० हजार अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा रहेको प्रबन्ध निर्देशक नेवाले बताए ।

‘द अर्गानिक भ्याली प्रालि’ युरोपियन बजारमा उत्कृष्ट पाँचभित्र परेको उनले जनाए । यसले चालू आर्थिक वर्षमा अदुवाबाटै रु छ करोड ७८ लाख ६० हजार नेट आम्दानी गर्ने लक्ष्य राखेको छ । हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्रालीका लागि रु ४० लाख स्वीकृत भइसकेको निर्देशक नेवाको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार