काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण गरेको एक दिनपछि भारतीय टेलिभिजन च्यानल जी न्युजले सगरमाथाबारे विवादित सामग्री प्रसारण गरेको छ । प्रधानमन्त्री केपी शर्माको अन्तर्वार्ता लिन शनिबार नेपाल आएका जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले काला पत्थरबाट स्थलगत रिपोर्टसहित सामग्री तयार पारेका हुन् ।
उक्त सामग्री मंगलबार साँझ र बुधबार बिहान जी न्युजमा प्रसारित भएको थियो । गत डिसेम्बर १ मै पनि चौधरीले सगरमाथाको नामबारे एउटा सामग्री प्रस्तुत गरेका थिए । उनले त्यो कार्यक्रममा ‘एभरेस्टको नाम माउन्ट सिकदर किन नराखिएको ?’ भन्दै भारतीय गणितज्ञ राधानाथ सिकदरको नाममा सगरमाथाको नाम हुनुपर्ने बताएका थिए । त्यतिमात्रै होइन त्यसका लागि आफूहरुको अभियान नै सुरु भएको पनि चौधरीले दाबी गरेका थिए ।
त्यही दाबीअनुरुप चौधरीले भनेबमोजिमको ‘माउन्ट एभरेस्टमाथि भारतीय दाबीको अभियान’ पछिल्लो कार्यक्रमबाट सुरु गरेका छन् । उनले सगरमाथासम्बन्धी कार्यक्रमको मेसो पारेर प्रधानमन्त्रीको अन्तर्वार्ता लिए वा प्रधानमन्त्रीको अन्तर्वार्ताको मौका पारेर सगरमाथासम्बन्धी सुनियोजित रुपमा कार्यक्रम बनाए भन्ने कुरामा आशंका गर्ने ठाउँ रहेको छ । किनकी यसअघिकै कार्यक्रममा उनले ‘माउन्ट एभरेस्ट पर भारतके दावे की मुहिम’ सुरु भएको बताएका थिए ।
राधानाथ सिकदरकै प्रेरणाबाट आफूले सगरमाथालाई नजिकबाट हेर्ने मौका पाएको पनि चौधरीले उल्लेख गरेका छन् । उनले कार्यक्रममा भनेका थिए, ‘राधानाथ सिकदर भारतका महान गणितज्ञ थिए । उनले सन् १८५२ मा पहिलो पटक विश्वकै सबैभन्दा अग्लो हिमालको उचाइ नापेका थिए । तर अंग्रेजहरुले उनलाई यसको श्रेय दिएनन् । यस पर्वतको नाम जर्ज एभरेस्टको नाममा राखियो । जसले न त कहिल्यै एभरेस्ट देखेका थिए, न त उनलाई यसका बारेमा जानकारी नै थियो । त्यसैले आज हामी माग गर्छौं कि माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर राख्नुपर्छ ।’
पटक–पटक नेपाल र नेपाली नागरिकका बारेमा विवादित अभिव्यक्ति र सामग्री प्रसारण गर्ने चौधरी त्यतिमै मात्रै रोकिएनन् । उनले अगाडि भने, ‘अब भारतले माउन्ट एभरेस्टमा दाबी ठोक्नुपर्छ ।’ त्यतिमै पनि अडिएनन् उनी । उनले काला पत्थरबाट ‘नयाँ भारतको नयाँ राष्ट्रवादको साँचो पत्रकारिता’ सुरु भएको पनि दाबी गरे ।
नेपाली भूमिबाट नेपालमै रहेको सगरमाथाबारे सामग्री प्रसारण गरेर चौधरीले कस्तो राष्ट्रवादको व्याख्या गरेका हुन् त्यो भने आगामी कार्यक्रममै बताउलान् । उनले आफ्नो उक्त कार्यक्रमले भारतीय दर्शकलाई राष्ट्रवादी भावना जागृत गराउने पनि दाबी गरेका थिए । उनले भनेका थिए, ‘आजको हाम्रो रिपोर्टले तपाईँहरुलाई राष्ट्रवादी भावना अनुभव गराउँछ । त्यसैले आज म चाहन्छु कि तपाईँहरु सबै परिवारका साथ यो कार्यक्रम