रौतहट, २७ पुष । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ पौराहीमा बसोबास गर्दै आइरहेकी ७५ वर्षीया वृद्धा सन्चमाया योन्जनले हालसम्म नेपालको नागरिकता पाएकी छैनन् । हाल मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नम्बर २ डोटे राइगाउँ भन्ने स्थानबाट करिब १५ वर्ष अगाडि सो स्थानमा बसाइ सरेर आएकी उनले आफुले नागरिकता बनाउन नसक्दा राज्यले वृद्धहरुलाई प्रदान गर्दै आइरहेको मासिक ३ हजार वृद्धभत्ता पनि आजसम्म पाएकी छैनन् ।
दुईवटा बिवाह गरेकी उनको दुबै श्रीमानहरुको मृत्यु भइसकेको छ भने सन्तानमा एक छोरा , एक छोरीलाई जन्म दिएकी उनको छोराको पनि मृत्यु भइसकेको छ । जिउँदो छँदा श्रीमान् नागरिकता नबनाइदिदाँ उनलाई नागरिकता बनाउन सकस भएको हो । पूर्ण निरक्षर रहेकी उनले डोटेबाट बसाइ सरेर आउँदा बसाइसराइ पनि बनाएकी छैनन् भने श्रीमानको पनि नागरिकता हराइसकेको छ । उनलाई नागरिकता बनाउन कहाँ जानुपर्छ के गर्नुपर्छ , के के कागजात चाहिन्छ कुनै अत्तोपत्तो छैन् ।
उनको अवस्थामा देखेर सोही वार्डका केही स्थानीयले उनको नागरिकता बनाउन पहल गरेपनि नेपाली हो भन्ने प्रमाण जुटाउन नसक्दा नागरिकता बन्न सकेन् । स्थानीय एक बहादुर मोक्तानले योञ्जनको नागरिकता बनाउन भनेर वडा कार्यालय धाएपनि उनको जन्म प्रमाणित गर्ने कुनै कागजात जुटाउन नसकेपछि हार खाएर बसेको गुनासो गर्छन् ।
उनको मात्र होइन उनीसँगै बसोबार गर्दै आइरहेका उनका नाति र नातिनी बुहारी पनि नागरिकता बन्न सकेको छैन् । उनकी छोरीको छोरा २२ वर्षीय शरण तामाङ्ग र उनकी श्रीमती २३ वर्षीया अनिषा तामाङ्ग पनि नागरिकता बनेको छैन् । कक्षा ४ सम्म मात्र पढेका शरण ६–७ वर्षको हुँदा उनको बुबाको मृत्यु भएको र आमाले उनलाई छाडेर अर्को बिवाह गरेर गएपछि उनको पनि नागरिकता बनाउन सकस भएको हो । आमाले छाडेदेखि उनी हजुरआमासँग बस्दै आइरहेका छन् ।
आफुसँग बुबाको नागरिकता पनि नभएको र ५–६ वर्ष अगाडि चितवनमा रहेका ठुलोबुबाहरुसँग नागरिकता बनाइदिन अनुरोध गरेपनि नबनाइदिने भनेकाले आफ्नो नागरिकता नबनेको दुःखेसो उनको छ ।
आर्थिक स्थिति निकै कमजोर रहेको उनीहरुको सम्पतिको नाममा खोला छेउमा एउटा सानो झुपडी मात्र छ । गाउँमै अरुको खेतमा बनिबुतो गरेर जीवीकोपार्जन गर्दै आएका उनीहरुलाई नागरिकता प्रदान गरेर राज्यले पाउनुपर्ने सुविधाहरु भोग गर्ने वातावरण सृजना गर्नुपर्ने स्थानीयहरुको भनाइ छ ।
नेपालको संविधानले पनि कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन् भनेको छ तर नेपालमै आफ्नो सम्पूर्ण उमेर बिताउँदा पनि जस्ता कैयौँ नेपालीहरु कागजात पु¥याउन नसक्दा नागरिकता पाउनबाट वञ्चित भइरहेका छन् ।
यता प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले योञ्जन र उनको परिवारलाई नागरिकता बनाउन आफ्नोतर्फबाट हुने र सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले योञ्जनको अवस्था बुझ्न उनकै गाउँमा जाने र कसरी सकिन्छ नागरिकता दिलाउन पहल गर्ने विश्वास दिलाउनुभएको छ । यसैगरी इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डोरेन्द्र निरौलाले पनि यस विषयमा चासो देखाउँदै आफ्नो र कार्यालयको तर्फबाट सक्ने र हुने सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।