३ लाखभन्दा कम मूल्यमा पाइने एबीएस भएको मोटरसाइकल

काठमाडौं । एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) अहिले पनि नेपालमा महंगो फिचरको रुपमा रहेको छ । विभिन्न कम्पनीले नेपालमा विक्री गर्ने १५० सीसी क्षमता अधिकांश मोटरसाइकलमा एबीएस उपलब्ध रहेको छैन । भारतमा सन् २०१९ अप्रिल १ तारिखबाट अनिर्वाय गरिएको एबीएस फिचर अहिलेसम्म पनि नेपाली बजारमा अनिर्वाय हुन सकेको छैन ।

एबीएस धेरै महंगो फिचर त होइन तर, यसको प्रयोग नगर्दा नेपालमा औषत मोटरसाइकल १५ हजार रुपैयाँ सस्तो हुने हुँदा यसको प्रयोग कम्पनीहरुले गरेका छैनन् । बजाजको पल्सर १५० नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल हो । यसमा एबीएस फिचर उपलब्ध रहेको छैन । २ लाख ७३ हजार ९०० रुपैयाँमा किन्न सकिने पल्सर १५० टिडीमा कहिलेबाट एबीएस फिचर आउने छ एकिन भन्न सक्ने अवस्था छैन ।

यामाहाको एफजेडएस भि थ्रि अर्को धेरै विक्री हुने मोडल हो । यसमा कम्पनीले एबीएस फिचर दिएको छ । तर, यसको मूल्य बजाज पल्सरको तुलनामा ५० हजार रुपैयाँ महंगो रहेको छ । यामाहाकाे याे बाहेक अन्य १५० सीसी माेडलमा एबीएस उपलब्ध छैन । त्यस्तै सुजुकी जिक्सर १५० मा पनि एविएस फिचर छ । यसको मूल्यपनि पल्सर १५० को तुलनामा ५० हजार महंगो रहेको छ ।

केहि समयअघि टीभीएस आरटीआर १६० फोर भीमा पनि एबीएस फिचर दिइएको छ । तर, यसको पनि मूल्य पल्सर १५० को तुलनामा ३६ हजार रुपैयाँ बढी रहेको छ । यस्तोमा ३ लाखभन्दा कम मूल्यमा ग्राहकले १५० सीसी सेगमेन्टमा एबीएस भएको मोटरसाइकल पाउनै मुस्कील रहेको छ ।

बजाजकै पल्सर एनएस १६० भने ३ लाखभन्दा कम मूल्यमा पाइने एबीएस भएको एउटा मात्रै मोटरसाइकल रहेको छ । पल्सर एनएस १६० एबीएस मोडलको मूल्य २ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ ।

यस्तो छ बजाज पल्सर एनएस १६०

बजाजले पल्सर एनएस १६० मोटरसाइकलमा सिंगल च्यानल एबीएस दिइएको छ । यसमा १६० सीसी फोर स्ट्रोक आयल कुल्ड इन्जिन लगाइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १५.५ पीएस पावरका साथै ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ ।

बाइकमा १७ इन्च अलोय ह्वील दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक, १६७ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक सस्पेन्स यसमा पाउन सकिन्छ ।(मेरो अटो)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार