गुल्मीमा अन्धविश्वासका कारण एक जनाको निधन भएको छ । विरामी भएपछि अस्पताल जानुको साटो धामीको भर पर्दा इश्मा गाउँपालिका ३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर कुमाल (मुखिया) को निधन भएको हो । धामीले उनलाई फलामको रड, प्लास्टिकको पाइप र स्टिलको झाँजर तताएर शरीरका विभिन्न भागमा डामेका थिए ।
ढाड दुख्ने बिरामीलाई अस्पताल नलगेर झारफुक गरी उपचार गर्ने बहानामा डाम्ने क्रममा कुमालको निधन भएको हो । घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी रेसुंगा नगरपालिका १ ओख्रेनी बस्ने मालिका गाउँपालिका ६ अर्जेका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठ हुन् ।
घटना गराएका राम प्रसादले नै प्रहरीमा उजुरी दिएका थिए । उनले आफ्नो घरमा अपरिचित व्यक्तिहरु आएर हल्ला गरेको भन्दै बुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीमा निवेदन दिएका थिए। प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य खुलेको हो । उनका जेठा छोरा ३४ वर्षीय हुमबहादुर मुखिया सामान्य घाइते भएका छन्।
गत आइतबार राम प्रसादको घरमा गएका रामबहादुरलाई उपचार गर्ने बहानामा खाना खान समेत नदिई आगोमा तताएको रडले डामेका थिए। त्यसको केहीछिन पछि सन्चो हुन्छ र आफै एकछिनमा उठ्छन् भन्दाभन्दै उनको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
रेसुंगा नगरपालिका ५ भुवनपानीका ४० वर्षीया टोपला दमाईलाई समेत झारफुक गर्ने बहानामा राम प्रसादले गत शनिबार बोलाई सोही विधिबाट पोली डामी घाइते बनाएको खुल्न आएको छ। टोपलालाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
-ताजा खबर बाट