आँचल शर्मा र उदिपलाई बच्चा कहिले ? भन्ने प्रश्न सोधेपछि आँचलले दिईन मुखभरिको जवाफ (भिडियो हेर्नुस)

काठमाडौं – अभिनेत्री आँचल शर्मा प्रेमी उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाधिएको एक बर्ष हुन् लागेको छ। एक बर्ष अघि हिन्दू परम्परा अनुसार उनीहरुले बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा विवाह गरेका थिए। ‘हामी तीन जना हुंन समय लाग्छ’, श्वेता खड्का र विजयन्द्रसिंह रावतको रिसेप्सनमा आँचलले जिस्किंदै भनिन्, ‘पहिला पाँच छ वटा पार्टी खाउँ न । साडी सम्हाल्ने कि, ब्याग सम्हाल्ने कि बच्चा !’

आँचललाई उदिपको केयरिङ गर्ने बानी असाध्यै मन पर्छ। उनलाई उदिपलाई नभेट्दासम्म आफ्नो बुबा र दादाले मात्र केयर गर्ने गरेको सम्झना छ। तर, उदिपलाई भेटिसकेपछि भने उनलाई ‘केटा मान्छे यस्तो पनि हुन सक्छ ?’ भन्ने लागेको थियो। ‘उहाँको केयरिङ देखेर केटाहरू पनि यस्तो हुन्छन् र भन्ने लाग्छ,’ उनले भनिन्, ‘उहाँको यही बानीको म कायल छु।’

उदिपलाई भने आँचल असल केटी लाग्छ। ‘खै म त उनको एउटा–दुइटा मात्र कुरा राम्रो कुरा भन्नै सक्दिनँ,’ उनले भने, ‘मलाई त उनी हर कुरामा पर्फेक्ट लाग्छ।’ त्यसो हो भने के यो जोडीको कहिल्यै ठाकठुक पर्दैन ? आँचलले उदिपलाई उछिनेर भनिन्, ‘मेरो पर्छ। दिनमा एकचोटि जसो त म रिसाएकै हुन्छु। तर, उहाँले फकाइहाल्नुहुन्छ।’ आँचलको कुरामा सही थाप्दै उदिपले रिसाउने कारण बताए, ‘उनलाई छिनछिनमा हाई–हेल्लो गरिरहनुपर्ने हुुन्छ। तर, म पेसेन्टसँग भएको बेला अरू सब कुरा बिर्सन्छु। यही निहुँमा उनले एकदुई घण्टी फोन काट्छिन् तर तेस्रो घण्टीमा उठाउँछिन्।’

आँचल भने धेरैको सम्बन्ध कम्युनिकेसनको अभावका कारणले नै सकिएको देखेकाले कम्युनिकेसनमा रहनकै लागि यस्तो गर्ने गरेको बताउँछिन्। ‘एकअर्कालाई एक अर्काको कुरा थाहा भयो भने मात्र सम्बन्धमा शंका हुन्न,’ आँचलले झगडाको अन्तर्य बताउँदै भनिन्, ‘नत्र यसरी नै सानो कुरा पछि गएर ठूलो हुन्छ। यही डरले हो, मैले फोन गर्नुभएन भनेर किचकिच गर्ने। अन्यथा, हाम्रो आजसम्म अरू कुनै विषयमा झगडा भएको छैन।’

भर्चुअल भेट
‘नाइँ नभन्नू ल ४’ मा अभिनय गराउने टुंगो भए पनि निर्देशक विकास आचार्यको आँचललाई शर्त थियो, ज्यान घटाउनुपर्छ। सौन्दर्य प्रतियोगिता जितेर भीजे हुँदै फिल्ममा आएकी उनलाई ज्यान घटाउने पिर थियो। उनको यो चिन्तासँग परिचित थिइन्, मामाकी छोरी। उनले फेसबुकमा उदिपको प्रोफाइल देखाउँदै भनिन्, ‘यो केटालाई भन्नू न। खत्रा डाइटिसियन हो।’ आँचलले उदिपको फोटो हेरिन्।

बहिनीको दाबीमा सत्यता थियो। फेसबुकमा उदिपका एकसे एक तस्बिर थिए। तर, उनलाई आफैँ कुरा गर्ने हिम्मत थिएन। दिदीको बानी बुझेकी बहिनीले नै उदिपलाई आँचलको समस्या बयान गरेर लामो मेसेज लेखिन्। दुई दिनपछि उनले जवाफ दिए– ‘हुन्छ, म हेल्प गरुँला। मलाई कन्ट्याक्ट गर्नू भन न।’ बहिनीले आँचललाई उदिपको सन्देश फरवार्ड गरिन्। तर, लज्जालु स्वाभावकी आँचललाई आफैँ फ्रेन्ड रिक्वेस्ट पठाउन गाह्रो लाग्यो। उनले बहिनीलाई अह्राइन्– ‘मलाई फ्रेन्ड रिक्वेस्ट पठाउनू भन न।’ एक दिनपछि उदिपको फ्रेन्ड रिक्वेस्ट आयो। आँचलले स्विकारिन्। मेसेन्जरमा कुराकानी भयो। उदिपले डाइट प्लान गर्ने सूत्र बताइदिए। कुरा सकिएपछि आँचलको मनमा डाइटबाहेक एउटै कुराको सम्झना आइरह्यो, ‘ओहो, कस्तो मीठो बोल्ने मान्छे रहेछ !’

‘पहिलो चोटि मेसेन्जरमा कुरा गर्दा नोटिस गरेको कुरा नै उहाँको बोली थियो,’ काठमाडौँ, बालुवाटारस्थित एउटा रेस्टुरेन्टमा उदिपसँगको इम्प्रेसन सुनाउँदै आँचलले भनिन् ,‘बोली नै कस्तो मीठो लाग्यो के ! कुरा गर्दै जाँदा हो, पछि अरू कुरा पनि मन पर्न थालेको।’

यसपछि आँचल र उदिपको कुरा हुन्थ्यो, तर एकदम पातलो। मुश्किलले दुईतीन हप्तामा एक पटक। तर, उदिपको सल्लाह अनुसरण गर्दै जाँदा आँचलले १० केजी तौल घटाइन्। आँचलसँग यसरी फेसबुकमा कुरा भइरहँदा उदिप अमेरिकामा थिए। फिलिपिन्सबाट एमबीबीएस सकेका उनी न्युट्रिसनको कोर्स गर्न अमेरिका पुगेका थिए। तर, उता रहँदा नै उनले आँचलझैँ थुप्रै सेलिब्रिटीलाई डाइटको सल्लाह दिने गरेका थिए। आँचललाई सुरुमा उदिपको बोली मात्र मन परेको भए पनि उदिपलाई भने सिंगै आँचल मन परेको थियो। ‘खै, त्यो कसैसँग पहिलो चोटि नै हुन्छ नि, आफ्नो जस्तो !’ उदिपले सम्झिए, ‘ऊसँग कुरा गर्दा त्यस्तै भएको थियो। मेरो इन्ट्युसनले सही भनेको रैछ।’

१५ मिनेटको पहिलो भेट
दुई वर्षअघि उदिप अमेरिकाबाट फर्किए। यतै क्लिनिक खोले। यस बीचमा आँचल र उदिपको यदाकदा हाई–हेल्लो हुन्थ्यो। आ–आफ्ना प्रोफेसनका कुरा हुन्थे। तर, उदिप नेपालमा ढुक्कै बस्न थालेपछि भने बाक्लै कुरा हुन थाल्यो। मेसेन्जरमा लामै कुरा हुन थालेपछि उदिपले आँचललाई भेट्ने प्रस्ताव राखे। आँचलले एक महिनासम्म सुटिङको बहानामा टारिरहिन्। ‘भेट्न मन पनि थियो तर हिम्मत भने थिएन,’ आँचलले दुविधाको कारण खुलाउँदै भनिन्, ‘काम विशेषले बाहेक फाल्टु मान्छेसँग कहिल्यै भेटेकी थिइनँ। त्यसैले नर्भस थिएँ। तर, भेट्न मन पनि थियो, किनकि मैले उहाँलाई मन पराउन थालेकी थिएँ।’

आँचलको कुरा सुनिरहेका उदिपले उनलाई ओभरटेक गर्दै भने, ‘तर, फस्ट टाइम भेट्दा कति समय बसेका थियौँ र ? जम्मा १५ मिनेट। त्यो पनि पूरा समय कारको ऐनामा हेरेर बितायो।’ ‘अनि के आफूलाई चाहिँ लाज लागेन त ?’ आँचलले उदिपलाई छड्के हेरेर मुस्कुराउँदै भनिन्। महिनादिनको योजनापछि आँचलले भेट्ने त भनिन् तर शर्त थपिन्– उदिपकै कारबाहेक अन्यत्र नभेट्ने। उदिपको सुर थियो– भेटेपछि कुनै रेस्टुरेन्टमा जाउँला र बसुँला।

तर, भेट भएपछि पनि आँचल आफ्नो कुरामा पक्का निस्किइन्। गैरीधाराको रेड मड क्याफेबाट गाडी चढेकी आँचललाई लिएर उदिपले एक फन्को लगाए र त्यहीँ छाडिदिए। त्यो समयमा पनि आँचलले उदिपलाई एकचोटि पनि नजर जुधाएर हेरिनन्। यो सन् २०१८ अक्टोबर ३१ को दिन थियो। तर, यही छोटो भेटले अनिगिन्ती भेटका लागि बाटो खोल्यो। भोलिपल्ट भेटेर तीनचार घण्टा सँगै बिताएका उनीहरूले त्यसयता भने काठमाडौँ र छेउछाउमा रहँदा एकअर्कालाई नभेटेको दिन छैन। कतिसम्म भने आँचल सुटिङका लागि धादिङ, भकुण्डेबेसीमा रहँदा पनि आधा घण्टाकै लागि सही, उदिप उनलाई भेट्न जान्थे। काठमाडौँमा रहँदा त उनीहरू दिनको एक चोटि भेट्ने रुटिन आजका दिनसम्म पनि तोडिएको छैन।

विल यू म्यारी मी ?
भेटेको तीन महिना भइसक्दा पनि दुवैले एकअर्कालाई माया गर्ने कुरा शब्दमा अभिव्यक्त गरेका थिएनन्। आँचल अक्टोबरका केही भेटपछि नै उदिपको मुखबाट प्रेमका ढाई अक्षर सुन्न आतुर थिइन्। तर, उदिप चाहिँ भन्ने नामै लिइरहेका थिएनन्। एक दिन अति भएपछि आँचलले भनिन्, ‘हजुरले नभन्ने नै हो त आई लभ यू ?’ उनले हाकाहाकी चुनौती दिएपछि उदिपले नभनी धर पाएनन्। डिसेम्बर १८ का दिन आँचल उदिपलाई भेट्न उनकै अफिसमा थिइन्। उदिपले रातो गुलाबको झुप्पा दिँदै घुँडा मारेर भने, ‘आई लभ यू। विल यू म्यारी मी ?’ आँचल त यही घडीको प्रतीक्षामा थिइन्। उनले बुके लिँदै प्रस्ताव स्विकारिन्।

उतिबेला उदिपको प्रस्ताव स्वीकार गरे पनि आँचललाई तत्कालै विवाह भइहाल्ला भन्ने लागेको थिएन। तर, विवाह गरेकी छिन्। ‘जन्म, मृत्यु र विवाह समयको हातमा हुन्छ भन्थे, हो रहेछ,’ उनले भनिन्, ‘बिवाह हुँदा हो रैछ भन्ने लागेको छ।’ उनलाई उदिपसँग विवाह हुनु अगाडी आफैँले भनेको अर्को एउटा कुराको पनि सम्झना हुन्छ। उनले एउटा अन्तर्वार्तामा विवाहका लागि जोसुकै पनि परोस्, तर नेवार र डाक्टर चाहिँ कहिल्यै नपरोस् भनेकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार