काठमाडौँ- सोमबार अपरान्ह महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख अपिल बोहरा बेचैन देखिन्थे।
उनी नेपाल प्रहरीको मोबाइल सेटमा उद्धारका लागि नेपाल आर्मीसँग हेलिकप्टर माग्नुपर्ने बताइरहेका थिए। माइतीघरमा प्रदर्शनकारीलाई पानी छ्याप्न तयारी अवस्थामा राखिएको दुईवटा वाटर ट्याङ्कलाई तत्कालै बोलाइएको थियो।
रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टअन्तर्गत १४ तलाको टावर ए ब्लकमा धुँमवाको मु,स्लो निस्किरहेको थियो। मानिसहरु हरेक तलाको रेलिङमा निस्किएर धुँवा हम्कँदै चिच्यारहेका थिए- बचा,ऊ बचा,ऊ।
प्रहरीले केहीबेरमा अर्को जानकारी पायो- छैटौँ तलामा दुई दिनकी सु,त्केरी पनि छिन्। ‘कोही पनि मानिस ओर्लन सकिरहेका थिएनन्। सजिलै भित्र जान सक्ने अवस्था पनि थिएन। ठुलै दु,र्घटना होला भन्ने डरले हेलिकप्टर चाहिन सक्ने बताएको थिएँ’, प्रहरी नायब उपरीक्षक-डीएसपी बोहरा भन्दै थिए।
उक्त ब्लकमा रहेका मानिसले दिउँसो साढे १ बजे तलबाट धुवाँ निस्किरहेको अनुभव गर्न थालेका थिए। ‘ढोका बाहिर निस्किएको, निस्सास्सिएजस्तो भयो। त्यसपछि हत्त न पत्त श्रीमती र मेरोमा काम गरिरहेका एक जनालाई तल झारेँ’, १० औँ तलामा बस्ने राज चन्द अनुहारभरि लागेको धुवाँ पुछ्दै भन्दै थिए। उनी तल ओर्लिएर ढुक्कले बसेनन्। श्रीमतीलाई माथि जान्छु भन्दै उक्लिए।
‘त्यो अवस्थामा मेरो दिमागमा मैले सकेजति सहयोग गर्नुपर्छ भन्ने लाग्यो र माथि उक्लिएँ। कोठाको ढोका र सिँढीहरुमा आगो दन्किरहेको थियो। धुवाँले सास फेर्न निकै गाह्रो भइरहेको थियो। सकेजति बाटो बनाउँदै मानिसहरुलाई निकाल्न सहयोग गरेँ’, उद्धारमा खटिएर तल ओर्लिएपछि रुँदै गरेकी श्रीमतीलाई थम्थमाउँदै चन्दले भने।
उनका अनुसार घटनाका बेला ११ औँ तलामा ३ जना, बाह्रौँ तलामा २ जना र १३ औँ तलामा २ जना थिए। तर उनीहरु कोही पनि ओर्लन मानिरहेका थिएनन्। ‘आगो कहाँबाट सुरु भएको यकिन गर्न गाह्रो थियो’, उनले भने।
उनको हात खुट्टा सिसाले काटेका छन्। आगो सुरु भएको झण्डै एक घण्टापछि अग्नि नियन्त्रक र सुरक्षाकर्मीले छैटौँ तलाबाट सुत्केरी महिलाको उद्धार गरेका थिए। त्यतिबेला १३ औँ तलामा १३/१४ वर्ष उमेरकी बालिका र ७/८ वर्षका बालक रेलिङमा निस्किएर चिच्याइरहेका थिए। घटनास्थलमा विभिन्न सुरक्षा निकायका फायर फाइटिङ टोली पुगिसकेका थिए। अक्सिजन सामग्रीसहित सशस्त्र प्रहरीका जवान सञ्जीवकुमार मोक्तान ‘कमाण्ड’ कुरिरहेका थिए।
‘तलबाटै आगो सल्किरहेको थियो। यस्तो अवस्थामा निकै डर लागिरहेको थियो। अर्कोतर्फ माथिबाट चिच्याइरहेका मानिसको आवाजले पीडा पनि दिइरहेको थियो’, २६ वर्षीय सञ्जीवले भने। उनले फायर फाइटिङ सुट पनि लगाइसकेका थिए। बीए सेट भएका उनी एक्ला थिए। उनलाई सशस्त्रले माथि जान संकेत गर्यो। ‘मेरो दिमागमा एउटा कुरा थियो- मरे मरौँला, बाँचे सबैलाई लिएर तल झरौँला’, सञ्जीव भन्दै थिए।
(देश सञ्चार)