प्रकाश सपुतको यो बानी मन पर्दैन बिन्दुलाई

‘गलबन्दी च्यातियो’ गीतबाट चर्चित बनेका गायक प्रकाश सपूत । त्यसअघि उनले ‘बोल माया’ गाएका थिए, जसले उनको चिनारी बनाइदियो । त्यसयता उनलाई निरन्तर सफलता र चर्चाले पछ्याइरहेको छ । उनको जीवन निकै संघर्षपूर्ण रह्यो । प्रकाशको जीवनको सम्पूर्ण उतार–चढावकी साक्षी हुन्–बिन्दु बोहोरा ।

जतिबेला प्रकाश गायक बन्ने सपना पालेर गाउँबाट काठमाडौं आए, सडकमा भौंतारिए, दोहोरी रेस्टुरेन्टमा जागिर खाए । सबै अवस्थामा बिन्दु उनको साथ–साथ थिइन् । चिनाइरहनु नपर्ला, बिन्दु प्रकाशकी जीवनसाथी हुन् । उनीहरूकी एक छोरी पनि छिन् ।

बिन्दु घरपरिवार सम्हाल्ने र छोरीलाई स्याहार्ने काममा व्यस्त हुन्छिन् । साथै उनी लेखपढ पनि गर्छिन् । बिन्दुले केही समयअघि मात्र स्नातकोत्तरको पढाइ सकिन् ।

बिन्दुलाई घर स्याहार्न, सजावट गर्न औधी मनपर्छ । किनमेल गर्न, घरधन्दा गर्न, लुगाफाटो मिलाउन उनलाई कत्ति अल्छी लाग्दैन । ‘श्रीमान्–श्रीमतीबीच समझदारी हुनु जरुरी हुन्छ । श्रीमान् निकै व्यस्त हुने भएकाले भनेको बेला सँगै बाहिर जान पाइँदैन । घरमा समय दिन पाउनुहुन्न’ बिन्दु भन्छिन्, ‘उहाँलाई सबैले चिन्ने भएकाले सधैं संयमित भएर हिँड्ने र बोल्ने गर्नुपर्ने हुन्छ ।

पहिला जहाँ जाँदा पनि मज्जाले घुम्न पाइन्थ्यो अहिले त्यस्तो हुँदैन ।’

विगतमा यस्तो थिएन । उनीहरू एकसाथ बस्थे, घुमफिर गर्थे । मान्छेले चिन्दैनथे । अहिले त प्रकाशलाई चिन्ने धेरै छन् । त्यसैले उनले निजी जीवनभन्दा बढी सार्वजनिक जीवन बाँच्नुपर्ने हुन्छ । यस्तो अवस्थामा घरपरिवारलाई समय दिन नसक्नु सामान्य नै हो । अहिले धेरै कुरा व्यवस्थित गर्नुपर्ने हुन्छ, सतर्क हुनुपर्ने हुन्छ ।

‘अहिले सँगै धेरै समय बिताउन पाइँदैन । समय मिल्नासाथ पहिला त फिल्म हेर्न निस्कन्छौं त्यसपछि घुम्न’ बिन्दु भन्छिन्, ‘छोरीलाई पनि घुम्न मनपर्छ ।’

उनलाई श्रीमान्ले गाएको ‘गलबन्दी’ गीत मनपर्छ । छोरीले पनि गुनगुनाउँछे । ‘बोलमाया’ गीत मेरो मन छुने गीत हो । मैले अहिलेसम्म पनि यो गीत पूरै हेर्न सकेकी छैन’ उनी भन्छिन्, ‘एकदमै भावुक हुन्छु । यो गीत श्रीमान्को जीवनसँग मिल्दोजुल्दो छ ।’

प्रकाशले आफ्नो करियरको कुरामा वा रुचिको कुरा बिन्दुसँग सरसल्लाह गर्छन् । आफूखुसी केही पनि गर्दैनन् । ‘सबै कुराको मलाई भनेर मात्र निर्णय लिनुहुन्छ । गीत पनि मलाई सुनाउनुहुन्छ कस्तो छ भनेर सोध्नुहुन्छ । कमेन्ट गर्छु । गीतको काम गर्ने बेला ‘म एकोहोरो हुन्छु मलाई डिस्टर्ब नगर्नू भन्नुहुन्छ ।’

यद्यपि प्रकाशका कतिपय बानी बिन्दुलाई मन पर्दैनन् । जस्तो कि, कुनै पनि कुरा एकदमै गहिरिएर सोच्ने । गम्भीरतापूर्वक लिने । मोबाइलमा एकदमै व्यस्त हुने । धेरै समय के–के सोचेरै बसिरहने । यसैगरी कुनै पनि कुरा छिटो भुल्न नसक्ने । बाहिर अरुसँग अन्तर्वार्ता दिनुपर्ने, बोल्नुपर्ने भएकाले घरमा पनि औपचारिक भएर बस्नुपर्ने । यस्तो बानी बिन्दुलाई मन पर्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार