अनि कोमल वलीलाई विवाह गर्ने चाहना हरायो

काठमाडौँ– गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब कहिले विवाह हुन्छ ?’

यस प्रश्नले दिक्क भएकी गायिकाले अब भने विवाह नगर्ने सोच बनाएकी छन् ।

उनले भनिन्, ‘खै अब त के विवाह गरिएला र ! मैले धेरै विवाहितहरूको अवस्था हेरेर पनि विवाह गर्ने चाहना नै हराइसकेको छ ।

एक समय थियो । जब उनले स्कुलबाट एसएलसी पास गरेकी थिइन् । त्यतिबेला उनी एक जना साथीको विवाहमा गइन् । सो विवाहको क्रममा उनले ती साथीलाई बेहुलीको रूपमा तयार गरिन् । त्यति बेला उनले पनि बेहुली बनेर श्रीमान्को घरमा जाने कल्पना गरेकी थिइन्, ‘अझ बेलुका पक्षका केही केटाहरूले मलाई तपाईं त कत्ति राम्रै भन्दै विवाहको प्रस्तावसँगै राखेका थिए ।

त्यतिबेला मलाई जीवनमा बेहुली त बन्नैपर्छ जस्तो लागेको थियो ।’ ती साथीलाई अन्माएर बेहुलासँग पठाउँदा साथी रोएपछि उनलाई केही नमज्जा पनि लाग्यो । तर, त्यसको केही दिनमै आफ्नो साथीलाई श्रीमान्ले औधी माया गरेको देखेर उनलाई फेरि विवाह गर्ने चाहना जागेको थियो ।

स्कुले जीवन सकेर उच्च शिक्षा हासिल गर्न काठमाडौं आएपछि उनी गायन र खेलकुदमा व्यस्त रहिन् । त्यो समय उनी एथलेटिक्सतर्फ राष्ट्रिय खेलाडी थिइन् । उनी २०४४ सालमा गायिकासमेत भइसकेकी थिइन् । गायन र खेलकुदले उनलाई व्यस्त बनाउँदै गयो, ‘त्यो समय घरमा धेरै लमीहरू आएर बुबाआमासँग मेरो विवाहको कुरा चलाए । तर, म यता काठमाडौंमा खेलकुद र गायनमै व्यस्त रहेको कारण ती लमीहरूको चाहना पूरा हुन सकेन ।’

अझै पनि उनलाई केही आफन्तले विवाह गर्नुपर्छ भन्दा रहेछन् । तर, उनलाई अब विवाहप्रति चासो छैन ।

त्यस समय गायिका कोमल ओलीलाई माया गर्नेहरू धेरै थिए, ‘धेरैले माया गर्छु भन्थे । तर, म उनीहरूलाई साथीको रूपमा लिन्थें ।’ सोही कारण त्यतीबेला आफूले केटाहरूलाई मरिहत्ते गरेर प्रेम नगरेको पनि वलीले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार