मुख्यमन्त्री शेरधनसँग बिहे गर्न लागेकी जाङमु भन्छिन् : उमेर भनेको नम्बरमात्रै हो

‘चिनजान पहिलेदेखि नै थियो। छात्रवृत्तिका लागि फन्ड जुटाउने क्रममा कुराकानी अघि बढ्दै गर्दा हामी नजिकिएका हौं। ११ गते बिहे हो। त्यसपछि मात्रै सबै कुरा खोलेर भन्छु। उमेर भनेको एउटा नम्बरमात्रै हो।’

२०१८ मा मिस मंगोलको उपाधि जितेलगत्तै पहिलो टेलिभिजन अन्तर्वार्तामा जाङमु इन शेर्पालाई सोधिएको थियो, ‘बिहे कहिले गर्ने योजना छ?’

त्यसबेला भर्खरै ‘टिन एज’ पार गर्न लागेको बताएकी उनको जवाफ थियो, ‘जब सम्पूर्णरुपले आत्मनिर्भर हुन्छु, अनि मात्र बिहे गर्छु।’

त्यतिञ्जेल त ३०–३५ काटिएला। ३०–३५ वर्षमा त केटाहरुले हेर्दैनन् भन्छन नि?’ जाङमुलाई अन्तर्वार्ताकारले प्रतिप्रश्न गरे।

‘ठिकै छ नहेरे पनि। उमेर भनेको एउटा नम्बरमात्रै हो। उमेरसँग मलाई कुनैपनि समस्या छैन। उमेर बढ्दै गयो र मैले केटा पाइनँ भने ठिकै छ’, जाङमुको आत्मविश्वासपूर्ण उत्तर थियो, ‘म एक्लैपनि बाँच्नसक्छु।’

आफ्नो बिहे योजनाबारे त्यस्तो उत्तर दिएको दुईवर्षपछि जाङमुको जीवनमा अहिले त्यही प्रसंग दोहोरिएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग माघ ११ गते जाङमुले लगनगाँठो कस्ने तयारी गरेपछि उनीहरुबीचको ‘उमेर अन्तर’ लाई सामाजिक सञ्जालमा चर्चाको विषय बनाइएको छ।

उनका जीवनसाथी बन्न लागेका मुख्यमन्त्री राई उनीभन्दा झण्डै दोब्बर (५० वर्ष) उमेरका छन्। यसबारे नेपालखबरको प्रश्नमा जाङमुले सोमबार पनि त्यही दुईवर्ष अघिकै उत्तर दोहोर्‍याइन्, ‘उमेर भनेको एउटा नम्बरमात्रै हो।’

नेपालखबरसँग संक्षिप्त कुरा गर्दै जाङमुले भनिन्, ‘हामीबीच उमेर केही फरक छ तर मेरो साँच्चिकै उमेर मिडियामा आएको जस्तो हैन।’

‘हामीले अहिले मिडियामा नबोल्ने, बिहेपछि मात्रै बोल्ने निर्णय गरेका छौं। ११ गतेपछि मात्रै सबै कुरा खोलेर भन्छु’, उनले थपिन्, ‘उमेर भनेको एउटा नम्बरमात्रै हो।’

यही माघ २ गते शेरधन राईको सचिवालयबाट उनको बिहे हुन लागेको खबर बाहिरिएको थियो। त्यसलगत्तै राई स्वयमले पनि सो कुराको पुष्टि गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार