त्रिभुवन विमानस्थलमा हेर्नुहोस्, भारतले आफ्नै विमानमा ल्याईदियो नेपाललाई कोरोना खोप (भिडियो)

काठमाडौं, ८ माघ । भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोरोना भ्याक्सिन लिएर एयर इन्डिया काठमाडौं आइपुग्नेकाे छ । भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएकाे हाे ।

दिल्लीबाट उडेकाे एयर इन्डियाकाे जहाज करिब पाउने १२ बजे काठमाडाैं आइपुगेकाे हाे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम छ ।

खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ ।

हिजाे (बुधबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिनुभएकाे थियाे ।उहाँले पहिलो चरणमा आउने खोप निःशुल्क उपलब्ध भएको भन्दै खोप क्रमशः भारतबाट ल्याइने जानकारी दिनुभयो । कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा काम गर्नेलाई उपलब्ध गराउने सरकारकाे याेजना छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्राथमिकताका आधारमा खोप उपलब्ध हुने जानकारी दिनुभयो । गौतमका अनुसार स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा नगरपालिकाबाट खटाइएका सफाइकर्मीलाई सुरुमा खोप दिइनेछ ।

यस्तै कोरोनाको जोखिममा रहेका व्यक्तिहरूलाई चरणबद्ध रूपमा खोप दिइने उहाँले बताउनुभयो । यस्तै फ्रन्ट लाइनमा खटिने प्रहरी, शिक्षकलगायतका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिन लागिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार