जंगल युद्धकला सिक्ने पहिलो महिला सिपाही : ‘भ्यागुता, सर्प र झारपात खाएँ, खाली खुट्टा कुदें’

उच्च शिर, हँसिलो अनुहार अनि शरीरमा कमब्याट ड्रेस– केही दिनयता सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएकी एक महिला सिपाहीको तस्वीर हो, यो ।

तस्वीरमा देखिएकी महिला सिपाही हुन्– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर २ की राधिका थापा ।

सैन्य तालिममा निकै चुनौतीपूर्ण मानिने ‘प्रतिविद्रोह तथा जंगल युद्धकला’ तालिम गर्ने पहिलो महिला सिपाही भएकाले पनि उनको चर्चा हुनु स्वाभाविकै थियो ।

उनीभन्दा अघि कुनै पनि महिला सैनिकले यो सौभाग्य प्राप्त गरेका थिएनन्, अथवा साहस देखाएका थिएनन् ।

सामान्य परिवारमा जन्मिएकी राधिकाका बुवा कृषक हुन् ।

उनको परिवारमा सेनामा जागिर खाने कोही थिएनन् । सेना भन्नेबित्तिकै पुरुषको तस्वीर सम्झिने हाम्रो समाजमा महिला सिपाही हुनु आफैंमा पनि हिम्मतकै कुरा हो ।

त्यसो त पछिल्लो समय सेनामा महिलाको संख्या बढिरहेको छ । त्यसमा पनि यो निकै चुनौतीपूर्ण तालिमले उनलाई चर्चामा ल्याइदिएको छ ।

‘यो तालिम अहिलेसम्म कुनै पनि महिला सैनिकले गरेका छैनन्, म पहिलो हो,’ राधिकाले लोकान्तरसँग भनिन् ।

राधिका विगत ८ वर्षदेखि प्रतिविद्रोह तथा जंगल वार फेयर शिक्षालयमा कार्यरत छिन् ।

तालिम सम्पन्न गरेर फर्किने सैनिकहरूले उनलाई त्यहाँको अनुभव सुनाउँदा रहेछन् । उनको मनमा पनि भित्रभित्रै उक्त तालिम गर्ने इच्छा पलाउँदै गयो ।

‘यसभन्दा अगाडि पुरुष सैनिकहरूले तालिम गरिरहेको देख्दै आएकी थिएँ । त्यसले गर्दा महिलाले पनि गर्न सकिन्छ भन्ने लाग्थ्यो । शारीरिक अवस्थाले अप्ठ्यारो हुन्छ कि भन्ने त थियो, तर तालिम गर्न सक्छु भन्ने आँट आयो,’ उनले लोकान्तरसँग भनिन् । 

उनले यो कुरा साथीहरूलाई पनि सुनाइछन् । साथीहरूले ‘सक्छौ भने गर न त’ भनेर हौसला दिएको उनले जानकारी दिइन् ।

त्यसपछि उनले परिवारसँग राय मागिन् । 

उनको विवाह संगठनभित्रै भएको छ । धादिङ स्थायी घर भएका सैनिक राजेन्द्र अधिकारीसँग उनको ४ वर्ष अगाडि विवाह भएको थियो ।

श्रीमान पनि सैनिक भएकाले राधिकाले सहजै अनुमति पाइन् । 

सासूससुराले पनि उनलाई तालिमका लागि अनुमति दिए ।

‘परिवार, साथीभाइ र श्रीमान्को हौसलाले यो अप्ठ्यारो अभ्यास गर्न शारीरिक तथा मानसिकरूपमा तयार भैसकेको थिएँ,’ राधिकाले लोकान्तरसँग भनिन्, ‘अहिलेसम्म महिला सहभागी भएका छैनन् भन्दा कताकता डर लागेको थियो, तर उत्सुक चाहिँ थिएँ ।’

अन्ततः २०७७ कात्तिक १८ गतेबाट शुरू भएको तालिममा उनी सहभागी भएरै छाडिन् ।

तालिमका दौरान सबैभन्दा गाह्रो टास्क ४ दिनसम्म कुनै खानेकुरा नलिई जंगलमा हिँड्नुपर्ने थियो । रित्तै हिँड्ने होइन, पिठ्युँमा भारी पनि हुन्छ ।

एफओएमओ ड्रेस (तालिममा लगाउने विशेष पोशाक) बोकेर हिँड्नुपर्ने हुन्छ ।

उनले ४ दिनको दिनरात विना खाना जंगलमा भेटिएका जडिबुटी, भ्यागुता, सर्प, गंगटा र झारपात खाँदै हिँडेको अनुभव सुनाइन् । 

‘यसका अलावा चुरे नेभिगेसन (चुरेको जंगलमा गर्ने अभ्यास) तराई नेभिगेसन ( तराईका जंगलमा गर्ने अभ्यास) धेरै गाह्रो हुन्छ,’ उनले भनिन् ।(लोकान्तर बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार