‘चराको आवाज लामो समय सुन्न पाएन भने मान्छे बि’रामी हुन सक्छ’

काठमाण्डाै – मिर्मिरेमा चराको चिरबिर सुन्दा झर्को मान्ने मान्छे सायदै होलान् । निद्राले छाड्न नपाउँदै सुनिएको आवाजले झर्को नभइ आनन्द दिनु त्यो आवाजप्रतिको प्रेम हो । चराविद् डा. हेमसागर बराल यही कुरालाई मानिस र चराबीचको सम्बन्धको बलियो प्रमाण मान्नुहुन्छ ।

बराल भन्नुुहन्छ ‘बिहान उठ्दा धोबिनी चराले गाइदिएको हुन्छ, मैनाचरी कराएको हुन्छ, कागहरु कराएका हुन्छन्, यी आवाजमा हाम्रो दिमाग अभ्यस्त भएको हुन्छ । हामीले वास्ता नगरेको भए पनि हाम्रो दिमागलाई शान्तितिर लैजान चरा कराएको आवाज वा प्राकृतिक सङ्गीतले साथ दिइरहेको हुन्छ । यो कुरा हामीले थाहा नपाए पनि हाम्रो लागि यसले काम गरिरहेको हुन्छ ।’

हामीले सुन्दै आएको भँगेरा, काग, मैनाचरी, धोबिनी जस्ता चराको आवाज लामो समय सुन्न पाइएन भने बिरामी पनि हुन सक्छौँ ।

‘होमसिक’ अर्थात् घरतिरको सम्झनाले हुने थकानमा धेरै कारण हाम्रो वरपर रहेका चराहरु हुन्छन्, जसले हामीलाई नजानिँदो तरिकाले साथ दिइरहेका चराविद् बरालको भनाइ छ ।

बेलायतीहरु अष्ट्रेलियातिर जाँदा आफ्ना ठाउँमा पनि चरा पनि लिएर जाने गरेको उदाहरण दिँदै बराल भन्नुहुन्छ ‘हामीलाई थाहा नहुन सक्छ तर हाम्रो हुर्काइ तथा शान्तिमा चराको भूमिका महत्त्वपूर्ण हुन्छ ।’ 

चराबाट फाइदै फाइदा 

तपाईँ व्यस्त दैनिकीबाट केही समय निकालेर जङ्गलतर्फ जानुस् त्यहाँ मन शान्त हुन्छ । सधैं भन्दा भिन्नै प्रकारको अनुभूति दिलाउने जङ्गलमा चराको आवाजले हाम्रो मनलाई पुलकित बनाउँछ । अनुभव गरिने यी सम्बन्ध मात्र हैनन् । चराबाट हामीले प्रत्यक्ष लाभ पनि लिइरहेका छौं ।

चराविद् डा. बराल भन्नुहुन्छ ‘सबैभन्दा महत्त्वपूर्ण कुरा त हाम्रो पारिस्थितिकीय प्रणाली जोगाउन यिनीहरुको भूमिका हुन्छ । एकले अर्कोलाई खाएर चलिरहने हाम्रो पारिस्थितिकीय प्रणालीमा चराहरु मान्छेको बालीनालीलाई क्षति गर्ने किराहरु खानेदेखि बोटविरुवाको परागसेचनसम्ममा चराले काम गरिरहेका हुन्छ । बोटविरुवाको विस्तारका लागि एक ठाउँबाट अर्को ठाउँमा बीउ लैजाने काममा पनि यिनीहरुको भूमिका हुन्छ ।’

मान्छेलाई मासु तथा अण्डा प्राप्त तथा चरा पालेर आम्दानी गर्नेलगायतका थुप्रै महत्त्वहरु रहेका हुन्छ। उड्ने साधन बनाएर आकासमा विचरण गर्न सिकाउने पनि यिनै चराहरु हुन् । (उज्यालो अनलाईन बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार