विद्यालयबाट सिधै घाँस–दाउरा

जाजरकोट, ११ फागुन । आइतबार अपराह्न ३ः०० बजे छेडागाड नगरपालिका–१ का आठ वर्षीयादेखि १५ वर्षीया छात्रा जङ्गलमा हँसिया र नाम्लोसँगै भेटिए ।

सडककै छेउमा रहेको जङ्गलमा भेटिएका सबै छात्राले कक्षा ३ देखि ९ सम्म कालिका माध्यमिक विद्यालय सोडारीमा पढ्ने विद्यार्थी रहेको बताए । बिहान विद्यालय गएर हत्तपत्त पढाइ सकी उनीहरु घर आएर सिधै जङ्गलमा घाँस–दाउराका लागि आएको कक्षा ६ मा पढ्ने कालिका रानाले बताउनुभयो ।

“घरमा आमा छन्, दाइ र बाबा भारत गएका छन्, आमालाई काममा सघाउनका लागि जङ्गल आएकी हुँ”, उहाँले भन्नुभयो । उहाँसँगै कक्षा ९ मा पढ्ने छात्रा रविना बुढाले घरमा नास्तासमेत नखाई सिधै जङ्गलमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा पढ्ने चिन्ताभन्दा घरको कामको चिन्ता बढी हुँदा पढाइ बिग्रिएको छ । विद्यालयमा पढाएको कुरा घरमा आएर हेर्नसमेत पाउँदिन, कामको चापले गर्दा हैरान छु ।”

कोरोनाका कारण बल्लतल्ल सञ्चालन भएका विद्यालयका विद्यार्थी घरायसी कामले घरमा पढ्न नपाउँदा पीडा भएको सुनाउँछन् तर त्यसको विकल्प उनीहरुसँग नहुँदा पढ्न नपाएको घाउ जति दुखे पनि सहन बाध्य छन् । “विद्यालयमा थोरै पढाइ भएको छ, घरमा पढ्ने वातावरण छैन”, अर्की छात्रा मेलिना थापाले भन्नुभयो, “न घरको काम राम्रोसँग हुन्छ न विद्यालयको पढाइ नै, विद्यालयबाट ल्याएको गृहकार्यसमेत गर्न नपाउँदा परीक्षामा अङ्क राम्रो आउँदैन ।”

घरायसी काममा समय बढी बिताउनुपर्ने बाध्यताका कारण आफूहरुको पढाइ राम्रो हुन नसकेको उनीहरुको भनाइ छ । अभिभावकले समेत छोरीलाई पढाइभन्दा काममा बढी लगाउने गरेको उनीहरुको आरोप छ । घरमा खाना पकाउनेदेखि घाँस–दाउरासम्मको काममा छोरीलाई नै लगाउँदा पढाइ प्रभावित भएको हो ।

छोरासरह छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना विकास नहुँदा छोरी काममा व्यस्त हुनुपर्ने स्थानीयवासी लालुमाया थापाले बताउनुभयो । छेडागाड नगरपालिका–१ को मात्रै समस्या नभएर जिल्लाभरिकै समस्या यही रहेको महिला अधिकारकर्मी बताउँछन् ।(न्युज २४ बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार