कांग्रेस तत्काल सरकारमा जाँदैन : गगन थापा

सिन्धुली, १५ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगनकुमार थापाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । उनले कांग्रेसलाई नेपाली जनताले पाँच वर्षसम्म सरकार चलाउने म्यानडेट नदिएका कारण अहिले सरकारमा जान नमिल्ने बताएका हुन् ।

आगामी निर्वाचनमा जाँदा पाँच वर्षभित्र गर्ने कामका एजेण्डासहित दुई तिहाई बहुमतसहित आगामी सरकारको नेतृत्व गर्ने म्याण्डेट लिएर मात्र सरकारमा जाने बताएका हुन् ।

शनिवार (आज) सिन्धुलीको चकमकेमा नेपाली कांग्रेस तीनपाटन गाउँपालिका समितिद्वारा विशाल आम सभालाई सम्बोधन गर्ने क्रममा थापाले नेपाली कांग्रेसले नेकपाको विवाद नटुङ्गिएसम्म कुनैपनि समूहलाई संसदमा समर्थन नगर्ने समेत बताएका छन् ।

उनले भने, ‘नेकपामा देखिएको ओली र प्रचण्ड–नेपाल समूहभित्रको आधिकारिकता प्रष्ट नभएसम्म कुनैपनि पक्षलाई समर्थन गर्दैन । पाँच बर्ष सरकार चलाउने म्याण्डेट प्राप्त गरेको नेकपा लोभ र लालचका कारण फुटको संघारमा पुगेपनि फुटिनसकेको अवस्थामा नेपाली कांग्रेस तत्काल सरकारमा जाने अवस्था आउँदैन् ।”

थापाले नेकपाको जुन समूहले सूर्य चिन्ह पाएपनि त्यो उनीहरु आफैमा भारी हुने बताए । उनले भने, “ओली समूहले पाए त्यहाँ बादल छन् । अब सूर्य चिन्हमा सँधै ग्रहण लाग्नेछ । माधव नेपालले पाए त्यहाँ पनि प्रचण्ड छन्, प्रचण्डको रापले त्यही खडेरी पर्नेवाला छ । सूर्य चिन्ह जुन समूहले पाएपनि जनताले सूर्य चिन्हमा मतदान गर्दैनन् । यी दुबै समूह एउटा घ्यू बेचुवा र अर्को तरबार बेचुवा हुन् ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र कार्यकर्तामाथि गद्दार गरेको टिप्पणी गर्दै थापाले इतिहासको सबैभन्दा असफल र कलंकित प्रधानमन्त्री भएको आरोप लगाएका छन् ।

थापाले नेपाली कांग्रेको महाधिबेशनको चर्चा गर्दै महाधिबेशन तोकिएकै समयमा सम्पन्न हुनेमा दुविधामा नपर्न नेताकार्यकर्तालाई आश्वसन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार