४० वर्षपछि जेलमुक्त दुर्गाप्रसाद : डायरीमा लेख्थे आधा हिन्दी आधा नेपालीमा मनका कुरा

इलाम – इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दीपक) ४० वर्षपछि आज भारतको जेलबाट छुट्नुभयो । दीपक भारतको कोलकातामा रहेको ‘दम दम सेन्ट्रल करेक्सनल होम’ मा जेल जीवन बिताइरहनुभएको थियो ।

लामो समयपछि जेलमुक्त भएसँगै दीपक घर फर्कन लागेपछि उहाँको परिवारमा खुशी छाएको छ । परिवारमा मात्र होइन गाउँमा नै एकप्रकारको उल्लास छाएको छ ।

सन् १९८० मा भारतको दार्जिलिङमा पक्राउ परेयता मुद्दाको ‘ट्रायल’बिना नै जेल जीवन बिताइरहनु भएका उहाँलाई शनिबार आफन्तको जिम्मा लगाइएको भतिज गोपाल तिम्सिनाले बताउनुभयो । उहाँलाई भारतमा रहेको नेपाली दूतावासकै गाडीमा झापाको काँकडभिट्टासम्म ल्याइनेछ । आइतबार दीपकका कान्छो भाइ धर्मानन्द र भतिज गोपाल उहाँलाई लिन काँकरभिट्टा जाँदै हुनुहुन्छ ।

वि.स. २०१७ सालमा जन्मिनुभएका दीपक रोजगारीका शिलशिलामा १९ वर्षको उमेरमा भारत जानुभयो । भारतमा गएर कमाउँला, परिवारलाई खुशी दिउँला, आफ्नो भविष्य राम्रो बनाउँला भन्ने उहाँको सपना थियो । तर कारागारका कठोर भित्तामा गएर ठोक्किन पुग्यो उहाँको सपना । दार्जिलिङमा हत्या आरोपमा समातिएका उहाँलाई भारतका विभिन्न जेलमा राखियो । त्यसबारे परिवारलाई कहीँ कतैबाट पनि जानकारी मिलेन । परिवारलाई थाहा नै थिएन, छोरो कहाँ गयो भन्ने । घर परिवार, गाउँमा मरिसके भन्ने हल्ला समेत फैलियो । 

विगत ४० वर्षसम्म यही भ्रममै बितिरहेका थिए इलाममा दीपकको परिवारका दिन । यसैबीच एकाएक आशाको दियो जल्यो । 

यसरी बाहिर आयो घटना

गोपाल तिम्सिनाका अनुसार, अर्कै मुद्दामा पक्राउ पर्नुभएका र १० वर्ष ‘दमदम करेक्सनल होम’ मै कैद सजाय भुक्तान गरेर छुट्नु भएका भारतीय नागरिक राधेश्याम दासले यो घटना बाहिर ल्याएका हुन् । त्यसपछि मात्र दीपकबारे थाहा भएको हो । दासले आफू थुनामा रहँदा दीपकलाई भेटेको र उहाँले घर इलाम बताएको आधारमा यो कुरा बाहिर ल्याएको बताउनु भएको हो । 

गोपालका अनुसार दीपकको वास्तविक नाम दुपड प्रसाद र चिनाको नाम दुर्गा प्रसाद भएको तर भारत जेलमा बसेपछि उक्त नाम अपभ्रंस भएर दीपक जैशी भएको हो । 

जेलबाट छुटेपछि दासले सबैभन्दा पहिले कोलकातामा नेपाली महावाणिज्य दूतावासमा दीपककाे बारेमा जानकारी दिनु भएको हो । तर, दूतावासबाट उचित ‘रेस्पोन्स’ नपाएको भन्दै उहाँले यसबारे ‘वेस्ट बंगाल रेडियो क्लब’का पदाधिकारीलाई खबर गर्नुभयो । भारतको केन्द्रीय सञ्चार मन्त्रालयमा दर्ता भएको यो क्लब त्यस क्षेत्रमा प्रकोपको समयमा सूचना उपलब्ध गराउने, हराएका मानिसको खोजी गरी पारिवारिक पुनर्मिलन गराउने तथा आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने जस्ता सामाजिक काममा सक्रिय रहेको छ । 

रेडियो क्लबले आफूले सूचना पाएपछि नेपालको उच्च अदालतका पूर्व मुख्य न्यायाधीश विदुरविक्रम थापालाई पत्र लेखेर घटनाबारे जानकारी गराएको थियो । क्लबका सचिव अम्बरिस नाग विश्वासले थापालाई गएको ३१ अक्टोबर (१५ कात्तिक) मा पत्र लेखेर आफूहरूले थुनामा रहेका नेपालीको उद्धारका लागि पहल गरिरहेको र नेपालबाट समेत पहल गर्न आग्रह गर्नु भयो । त्यसपछि यो खबर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल हुँदै दीपकको परिवारसम्म पुग्यो । 

दीपकसँगको भेट

दीपक कोलकाताको दमदम जेलमा छन् भन्ने थाहा भइसकेपछि गएको फागुनमा उहाँलाई भेट्न दीपकका दाइ प्रकाश, समाजसेवी इन्द्र बस्नेत र भतिजा गोपाल भारत जानु भएको थियो । दमदम जेलको अँध्यारो कोठामा ठूलो बुवालाई डराइरहेको अवस्थामा भेट्दा गोपालको मनमा पनि अँध्यारो छायो । 

‘ठूलो बुवाले घर परिवार नेपालको भाषा सबै बिर्सनु भएछ, तर भाइ, दिदीको नाम सोध्दा सबैको नाम भन्नु भयो’, गोपाल भन्नुहुन्छ, ‘नेपाल जानुहुन्छ ? भनेर सोध्दा खुशी हुँदै जान्छु, अहिल्यै जान्छु भन्नु भएको थियो ।’ तर त्यस्तो अवस्थामा आफ्नो ठूलो बुवालाई भेट्दा आफूलाई नरमाइलो लागेको गोपाल बताउनुहुन्छ ।

‘भेट्न जाँदा ठूलो बुवाले लेख्नु भएको डायरीसमेत छेवैमा थियो’, गोपाल भन्नुहुन्छ, ‘डायरीमा आधा हिन्दी आधा नेपालीमा मनका कुरा लेखिएका थिए ।’ डायरीमा दीपकले जेलमा दिन बिताउँदा आफ्ना मनका उब्जेका भावनाहरु लेख्नुभयो । 

‘म निर्दोष छु । मेरो लागि त भगवान पनि रहेन रैछ भनेर लेखिएको थियो’, गोपालले भन्नुभयो, ‘यो पढ्दा भने आँखाबाट आँसु नै झर्यो ।’

जेलभित्र गएर फोटो खिच्न पाइँदैन । गोपालले चाहेर पनि त्यो डायरीको फोटो भने खिच्न पाउनुभएन ।

फागुनमा भेट्न जाँदा नेपाली दूतावास र कोलकातामा रहेकाे महावाणिज्य दूतावासले यातायात खर्चबापत पाँच हजार र कोट खर्च पाँच हजार रुपैँया गरी १० हजार रुपैँया सहयोग गरेको गोपालले जानकारी दिनु भयो । नेपाल आएपछि ६/६ महिनामा शारिरीक र मानसिक अवस्थाकाबारेमा जानकारी गराउने जिम्मेवारी दूतावासलाई दिएको छ । 

‘निको भएपछि अभियोग लगाइएको सहि हो या होइन यसबारे प्रमाणित गर्नको लागि पुनः भारतको अदालत ल्याउनु पर्छ भनिएको छ’, गोपालले भन्नुभयो । 

दार्जीलिङबाट पक्राउ पर्नु भएका उहाँलाई किन जिल्ला र प्रान्तको जेल वा सुधार गृहमा नराखी कोलकाताको ‘दम दम सेन्ट्रल करेक्सनल होम’ जेलमा पठाइयो भन्ने खुल्न सकेको छैन । सब भन्दा गम्भीर कुरा त उहाँलाई लगाइएको आरोप सहि हो या गलत भन्नेबारेमा समेत थाहा नभएको बताइएको छ । 

परिवारमा आर्थिक समस्या

विस. २०२४ सालमा दीपकका बुवाको निधन भयो । त्यसपछि गाईले हानेर आमा धनमायाको दाहिने हात काट्नुपर्यो । धनमायाका चार छोरा तीन छोरीमध्ये दुई छोरा र एक छोरीको निधन भैसकेको छ । भएका दुई छोरा र एक छोरी पनि मानसिक समस्याका कारण अस्वस्थ हुनुहुन्छ ।

आफूलाई लागेको आरोप र लामो समयसम्मको जेल यातनाले दीपकको मानसिक सन्तुलन पनि ठीक छैन । त्यसैमाथि परिवारमा अरु सदस्यहरुको स्वास्थ्य अवस्था पनि ठीक नभएकाले अबको समस्या कसरी समाधान गर्ने भन्ने समस्यामा रहेको गोपाल बताउनु हुन्छ । 

तर समस्या जस्तो भए पनि चार दशक पछि आफ्नो छोरा घर आउने खबरले ८५ वर्षीया आमा धनमायाको अनुहार उज्यालो भएको छ । आँखाभरि खुशीका आँशु टिलपिल गरिरहन्छन् । धनमायालाई जेल भनेको सजाए दिने ठाउँ हो भन्नेसम्म पनि थाहा छैन । जेल भनेको उहाँलाई आफ्नो छोरोले पैसा कमाउन काम गर्ने ठाउँ भन्ने लागेको छ । 

‘कमाउनका लागि घरबाट हिँडेको छोरो घर आउँदा बुढेसकालमा सहारा मिलेको छ, आडभरोसा मिलेको छ’, उहाँले खुशी हुँदै भन्नुभयो ।(उज्यालो बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार