सरकारी मापदण्डलाई चुनौती दिँदै भारतीय टोली मुस्ताङमा ‘फिल्म सूटिङ’ गर्दै

जोमसोम: समुदाय स्तरमा कोरोनाको दोश्रो लहर फैलिन थालेपछि हिमाली जिल्ला मुस्ताङका स्थानीयमा कोरोनाको त्रास बढेको छ । कोरोनाकै कारण बिहीबार मुस्ताङमा एक महिलाले ज्यान गुमाइन् भने जिल्लामा अझै १२ जना सक्रिय संक्रमित छन् ।

केही साताअघि ग्रीन जोन कायम रहेको मुस्ताङमा पर्यटकीय गतिविधि बढेसँगै कोरोनाको जोखिम बढेको थियो । चैते दशैँ, औँशी, नयाँ वर्ष र रामनवमी पर्व लगायतमा सयौं धार्मिक पर्यटक मुस्ताङ भित्रिएका थिए । जसका कारण पनि मुस्ताङमा कोरोना जोखिम बढेको अनुमान छ ।

छिमेकी देश भारतसँगै नेपालमा पनि कोरोनाको दोश्रो लहर फैलिएपछि मुस्ताङ जिल्लाको सीसीएमसी आकस्मिक बैठकले गत बैशाख ११ गते देखि मुक्तिनाथ मन्दिर बन्द गर्‍यो भने बिवाह, ब्रतबन्ध, भोज भतेर, सभासमारोह र धार्मिक मठ/मन्दिर, गुम्बा र चर्चहरुमा गरिने नियमित पूजापाठ बाहेक सबै गतिविधिमा रोक लगायो ।

यस्ता कार्यक्रममा १५ जना भन्दा बढी भेला हुन नपाइने र जिल्ला प्रवेश गर्ने पर्यटकलाई होटल क्‍वारेन्टाइन बसेको प्रमाणपत्र अनिवार्य गराइयो । सीसीएमसीले कोरोना जोखिमको बिषम् अवस्थालाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर जिल्ला प्रवेश नगर्न समेत अनुरोध गर्‍यो ।

तर, कोरोना भाइरसको उच्च जोखिम र यसको नियन्त्रणका लागि सरकारी मापदण्डलाई ठाडो चुनौती दिँदै बैशाख १६ गतेदेखि भारतीय जम्बो चलचित्र छायाङ्कन टोली मुस्ताङमा छ । भारतमा कोरोनाको जोखिम उत्कर्षमा पुगेका बेला भारतीय चलचित्रकर्मी मुस्ताङ आएपछि स्थानीयबासीमा कोरोनाको त्रास बढेको पाइएको छ ।

सूचना तथा संञ्चार मन्त्रालयको अनुमति लिएर मुस्ताङमा छायांकन गर्न आएको बताउने उनीहरुले खुलेआम मुस्ताङमा छायांकन गरिरहेका छन् । मुस्ताङमा भारतीय चलचित्र छायांकनका लागि आएको उक्त टोलीमा करिव ५०/६० जना छन् ।

जसमा ४/५ जना नेपाली कलाकार पनि छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जम्बो भारतीय चलचित्रकर्मीको टोलीले संञ्चार मन्त्रालयको अनुमति लिएको र चलचित्र छायांकनलाई सरकारले रोक लगाइनसकेकाले जिल्ला प्रवेशको अनुमति दिएको बताएको छ ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले भारतीय चलचित्रकर्मी टोलीलाई गाउँबस्तीमा नभइ बस्ती भन्दा पर छायांकन गर्नुपर्ने सुझाएको बताए ।

निकै महंगो लागतको सिनेमास्कोप उक्त भारतीय चलचित्रको छायांकन टोलीले मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, स्याङ, मार्फा, टुकुचे, ढुम्बाताल र नाउरिकोट लगायत गाउँमा सुटिङ गर्ने जनाए पनि कोरोना जोमिखका कारण स्थानीयले सुटिङ गर्न दिएनन् ।(अन्नपूर्ण पोस्ट बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार