कोरोनाको कहर: लुम्बिनी प्रदेशमा २० दिनमा १६५ जनाको मृ’त्यु

बुटवल : रुपन्देहीको देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री लुम्बिनी प्रादेशिक अस्पतालको बाहिर उभिएर टोलिफोनमा बोलिरहेका थिए । उनले बिहानैदेखि आइसीयुसहितको खोजी गरे । वडाध्यक्षकी श्रीमतीलाई आइसीयुमा राख्नु थियो । बुटवलदेखि काठमाडौंसम्मका अस्पतालमा फोन गरे तर आइसीयु बेड फेला परेन । 

कोरोना संक्रमणपछि अक्सिजन कमी भइ थलिएकी  ६ का वडाध्यक्ष दामोदर क्षत्रीकी ४९ वर्षीया श्रीमती कुष्ण कुमारीलाई उपचारका लागि बुटवल ल्याइएको थियो । चिकित्सकले आइसीयुमा राख्न सुझाव दिए । तर, बेड फेला नपरेपछि ‘फिभर वार्ड’मै राखियो । वैशाख १४ गते मंगलबार उनको निधन भयो ।

पश्चिम नवलपरासी रामग्रामका ३५ वर्षीया युवाले उपचार नपाएर ज्यान गुमाए । पृथ्वीचन्द्र अस्पतालमा बैशाख १३ गते उपचारका लागि आएका उनलाई आइसीयु आवश्यक थियो । उनका आफन्तले चारैतिर खोजी गरे तर आइसीयु बेड फेला परेन । आइसीयु नभएपछि अस्पतालले त्यहीकै नर्मल बेडमा राखेर सिलिण्डरबाट अक्सिजन दियो । 

तरपनि उनको जीवन बच्न सकेन । वैशाख १४ गते मंगलबार उनको ज्यान गयो । अस्पतालका मेडिकल सुपरिटेण्डन डा. मोहम्द नुरुल होदा आइसियु नभएकै कारण उनको ज्यान गएको बताउँछन् । ‘हामीले बुटवल र भैरहवाका अस्पतालमा आईसियु बेड खोज्यौ तर खाली भएन’, उनले भने, ‘आइसियुको सहयोगमा उपचार गर्नुपर्ने बिरामीको उपचार नभएरै ज्यान गयो ।’

यी दुई पछिल्लो साता भएका घटना हुन् । लुम्बिनी प्रदेशमा आइसियु नपाएरै मृत्यु हुने बिरामीको संख्या बढ्दै गएको छ । बुटवलमै ६ जनाभन्दा बढीको अक्सिजन खोज्दा खोज्दै ज्यान गयो । ज्यान जाने जोखिम बढी रहेको चिकित्सकहरु बताउँछन् । गत वर्ष कोरोना महामारी भएपछि लुम्बिनी प्रदेश सरकारले बुटवल, भैरहवा, दाङ्ग, नेपालगञ्जमा कोभिड विशेष अस्पताल सञ्चालनमा ल्यायो । पहिलो चरणको महामारी सकियो । ०७७ चैतको दोस्रो सातासम्म आइसियु बेडमा एकाध बिरामी थिए । 

चैतको दोस्रो साताबाट भारतमा संक्रमण उच्च दरमा बढ्न थाल्यो । त्यसयता रुपन्देहीको बेलहिया नाकाबाट मात्रै १० हजार बढी नेपाली स्वदेश फर्किए । भारतबाट फर्किएकाबाट नेपालमा दोस्रो चरणको संक्रमण फैलने र बिरामी बढ्ने चेतावनी चिकित्सकहरुले दिइरहेका थिए । पहिलो चरणको महामारी र चेतावनीबाट सरकारले चेत नखाएपछि दोस्रो चरणमा विजोग अवस्था सिर्जना भएको छ ।

लुम्बिनी प्रदेशमा पछिल्लो साता दैनिक एक हजारभन्दा धेरै संक्रमित थपिएका छन् । तर, अस्पताल बेड र आइसियुहरु एक वर्ष अघिकै हालतमा छन् । कतिपय निजी अस्पतालको सेवा अहिले बन्द छ । अस्पतालमा बेड नथपिने र लक्षण भएका संक्रमित बढ्दा स्थिति भयावह हुने चेतावनी चिकित्सकको छ ।

प्रदेश सरकारले सञ्चालन गरेको दाङको बेलझुण्डी, बाँकेको भेरी अस्पताल, बुटवलको कोरोना विशेष र भैरहवाको भीम अस्पतालमा मात्रै आइसीयुसहितका बेड छन् । त्यो संख्या जम्मा ३९ छ, भेन्टिलेटर २१ वटा छन् । जटिल प्रकृतिका बिरामी मात्रै यहाँसम्म आउने गरेका छन् । एउटा विरामीलाई निको हुन ९ देखि २० दिनसम्म लाग्ने गरेको छ । निको वा मृत्यु भएमात्रै अर्का बिरामीले उपचार पाउँछन् । 

लुम्बिनी प्रदेशमा वैशाख २० गतेसम्म सक्रिय संक्रमितको संख्या १२ हजार नाघेको छ । यी संक्रमितको उपचारका लागि प्रदेशभर जम्मा ३ सय ३४ वटा सुविधायुक्त बेड छन् । अन्य सामान्य बेडको संख्या ५ सय २६ छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार चारवटा सरकारी कोभिड अस्पतालमा ३९ आइसीयु र २१ भेन्टिलेटर छन् । अन्य एक सय तीन एचडियु हुन् । सरकारी अस्पतालमा १ सय ९२ वटा बेड छन् । यो संख्या गतवर्षभन्दा पनि कम हो ।

निजी क्षेत्रका ८ वटा अस्पतालबाट कोरोनाको उपचार हुने गरेको छ । ती अस्पतालमा १ सय ७१ आइसीयु, एचडियु र भेन्टिलेटर छन् । सामान्य बेड संख्या ३ सय ३४ मात्रै छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो चरणमा देखिएको संक्रमणमा लक्षणसहितका बिरामी धेरै छन् । अधिकांशलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ । त्यसैले मृत्युदर समेत बढेको छ । ०७८ को बैशाख महिनाको २० दिनमा मात्रै लुम्बिनी प्रदेशमा १ सय ६५ जनाको ज्यान गएको छ । यो अघिल्लो महामारीमा मृतकमध्येको झण्डै आधा हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार