बाँकेमा निषेधाज्ञापछि पनि हरेक ६ घण्टामा एकको मृत्यु

नेपालगन्ज: बाँकेको खजुरा गाउँपालिका ७ की ३२ वर्षीया महिलाको सोमबार कोरोनाका कारण मृत्यु भयो । १० वैशाखमा संक्रमण पुष्टि भएकी उनी १६ गतेदेखि भेरी अस्पतालमा उपचाररत थिइन् ।

बैजनाथ गाउँपालिका ५ की ३३ वर्षीया अर्की महिलाको पनि सोमबार निधन भयो । ८ वैशाखमा कोरोना पोजिटिभ भएकी उनी १४ गते भेरी अस्पतालमै भर्ना भएकी थिइन् ।

कोरोनाको जोखिम वृद्धवृद्धाहरुलाई बढी छ भन्नेहरुका लागि यी दुई महिला त उदाहरण मात्र हुन् । पछिल्लो समय सबै उमेर समूहका व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । सोमबार मात्र बाँकेका ७ जनाले ज्यान गुमाए । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ९ थियो । जिल्ला प्रशासन कार्यालय बाँकेले ९ वैशाखमा नेपालगन्जमा निषेधाज्ञा जारी गरेयता पनि कोरोना संक्रमण पुष्टि हुने र मृत्यु हुने दर घटेको छैन । बढेको बढ्यै छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार ९ वैशाख यता मात्र कोरोनाबाट जिल्लामा ६७ जनाको निधन भइसकेको छ । सोमबार साँझ ६ बजेसम्म जिल्लामा कूल एक सय  ३८ जना संक्रमितको निधन भएकोमा यो १२ दिनमा मात्र निधन हुनेको संख्या ४८.५५ प्रतिशत हो । जिल्लामा यो अवधिमा हरेक दिन कम्तीमा एक जनादेखि बढीमा ९ जनासम्म निधन भएको छ । यो तथ्याङ्कका आधारमा हरेक दिन औसत ४ जनाले ज्यान गुमाइरहेका छन् । अर्थात हरेक ६ घण्टाको अवधिमा एक जना संक्रमितको ज्यान जाने गरेको छ ।

कोरोना संक्रमण दर पनि निषेधाज्ञा यता घटेको छैन । बढ्दै गएको छ । सोमबार साँझ ६ बजेसम्म जिल्लामा कूल १० हजार ६ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा यो निषेधाज्ञापछिको १२ दिनमा मात्र चार हजार चार सय २५ जना नयाँ संक्रमित थपिएका छन् । जुन कूल कोरोना संक्रमणको ४१.४९ प्रतिशत हो । नेपाल सरकारले समुदाय स्तरमा कोरोना संक्रमण विस्तार भएको घोषणा नगरे पनि चिकित्सकहरु बाँकेमा समुदाय स्तरमा संक्रमण फैलिएको बताउँछन् ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे जिल्लालाई जनस्वास्थ्य संकटकाल घोषणा गरेर उपचार गर्न सुझाव दिन्छन् । उनी जोड दिन्छन्, ‘जिल्लामा सञ्चालित सरकारी र नीजि सबै अस्पताललाई आइसोलेसन बनाएर उपचार गर्नुपर्छ । त्यसका लागि बाँके जिल्लालाई जनस्वास्थ्य संकटकाल (पब्लिक हेल्थ इमरजेन्सी) घोषणा गर्नुपर्छ ।’

२७ वैशाखसम्म निषेधाज्ञा थप

बाँकेमा जारी निषेधाज्ञा २७ गतेसम्मका लागि थप गरिएको छ । ९ वैशाखदेखि नेपालगन्ज र वैशाख १३ देखि जिल्लाभरी जारी निषेधाज्ञा कोरोना संक्रमण नघटेपछि २७ वैशाख राति १२ बजेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको सूचनामा कोरोना संक्रमणको साङ्लो तोडन भन्दै निषेधाज्ञा जारी गरिएकोमा संक्रमण दरमा कमी नआएका कारण आदेशलाई निरन्तरता दिइएको जनाएको छ । यसअघि बैंकका सेवासमेत पूर्ण रुपमा बन्द रहेकोमा अब सिमित संख्याका कर्मचारीद्वारा दैनिक ३ घण्टा सञ्चालन गर्ने गरी बैंक खुकुलो बनाइएको छ ।(अन्नपूर्ण पोस्ट बाट साभार)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार